काठमाडौँ - ललित राजवंशीको उत्कृष्ट बलिङप्रेरित नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा सोमबार प्रदेश-१ लाई १०२ रनमै समेटेको छ। योसँगै पुलिसले जितका लागि १०३ रनको लक्ष्य पाएको छ।
मुलपानी क्रिकेट मैदानम टस जितेर ब्याटिङमा आएको प्रदेश-१ ले ३५.१ ओभरमा सबै विकेट गुमाएर १०२ रनको योगफल खडा गर्यो। प्रदेश-१ लाई सस्तैमा समेट्न पुलिसका ललित राजवंशीले ५ विकेट लिए। १० ओभर बलिङ गरेका ललितले ३ मेडन राख्दै २६ रनमात्र खर्चिए। सागर ढकाल र कप्तान दीपेन्द्रसिंह ऐरीले समान २ विकेट लिँदा राशिद खानले १ विकेट हात पारे।
प्रदेश-१ का ओपनर निरज मुखियाले सबैभन्दा धेरै २९ रन बनाए। अर्का ओपनर अकिंत सुवेदीले २४ रन र विवेक आनन्द मेहताले १७ रन बनाउँनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्। ५६ रन जोड्दा पहिलो विकेट गुमाएको प्रदेश-१ बाट त्यसपछिका नौ ब्याट्सम्यानले टिमको खातामा ४६ रनमात्र जोड्न सके।