काठमाडौं । सरकारले विद्युतीय ग्रिड सुधारका लागि ६० मिलियन अमेरिकी डलर स्वीकार गर्ने निर्णय गरेको छ ।
शुक्रबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले एसियाली विकास बैंकबाट प्राप्त हुने ६० मिलियन अमेरिकी डलर स्वीकार गर्ने निर्णय भएको जानकारी दिए ।
‘विद्युतीय ग्रिड आधुनिकीरण आयोजनाका लागि एसियाली विकास बैंकबाट प्राप्त हुने ६० मिलियन अमेरिकी डलर स्वीकार गर्ने निर्णय भएको छ’, सरकारकाे प्रवक्तासमेत रहनुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री कार्कीले भने।
सरकारले आगामी माघ १२ गतेका लागि राष्ट्रियसभा सदस्य निर्वाचनको मिति तोकेको छ । मन्त्रिपरिषद्को मंसिर २ गते बसेको बैठकले सो निर्णय गरेको हो ।
त्यसैगरी, सरकारले पशु कल्याण विधेयक प्रमाणिकरणका लागि स्वीकृति दिने निर्णय गरेको छ । प्रवक्ता कार्कीका अनुसार पशुप्रति हुने निर्दयी व्यवहार रोक्नका निम्ति सरकारले समिति गठन गर्ने निर्णयसमेत गरेको छ ।
सरकारले केही विदेश भ्रमण स्वीकृति र बढुवाको निर्णय गरेको छ ।
यसैगरी, मोरक्कोमा आयोजना हुने इन्टरनेशनल एक्जुकेटिभ काउन्सिल अफ आइइसी सम्मेलनमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सागरकुमार राईलाई सहभागी हुन स्वीकृति दिने निर्णय पनि गरिएको मन्त्री कार्कीले जानकारी दिए । उनका अनुसार एशियन–अफ्रिकन लिगल कन्सल्टटेटिभ अर्गनाइजेसन (एएएलसिओ) को ५९ औं वार्षिक सभामा भाग लिन कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाल बडुको नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति दिने निर्णय भएको छ ।
दक्षिण कोरियामा हुने संयुक्त राष्ट्र संघको शान्ति मिसनको बैठकमा सहभागी हुन रक्षामन्त्री डा. मिनेन्द्र रिजालको नेतृत्वको टोली पठाउने निर्णय बैठकले गरेको हो ।
यसैगरी, नेपाल स्वास्थ्य सेवाको अधिकृत बाह्रौं तहमा डा श्यामसुन्दर यादव, डा भिमसिंह टिंकरी र डा गुणराज लोहनीलाई बढुवा गर्ने निर्णय गरेको प्रवक्ता कार्कीले जानकारी दिए।