काठमाडौँ - तेस्रो पटक आयोजना भएको युरो कप विजेता र कोपा अमेरिका विजेताबीच भएको खेलमा दक्षिण अमेरिकी देश अर्जेन्टिनाले जित निकालेको छ। पछिल्लो समरमा सम्पन्न भएको कोपा अमेरिकाको फाइनलमा ब्राजिललाई हराउँदै अर्जेन्टिनाले जित निकालेको थियो। यता, सोही समयमा इंग्ल्यान्डमा भएको युरो कपको फाइनल खेलमा घरेलु टिमलाई परास्त गर्दै इटाली युरो कप विजेता भएको थियो।
त्यसपछि ती दुई महादेशीय प्रतियोगिताको विजेताबीच खेल गराइएको हो। यी दुईबीचको बुधबार राति सम्पन्न खेलमा अर्जेन्टिनाले जर्मनीलाई ३–० गोलले हराएको छ। बेलायतको लन्डनस्थित वेम्बली रंगशालामा भएको खेलमा अर्जेन्टिनालाई जिताउन ३ जना खेलाडीले गोल गरेका थिए। कप्तान मेस्सीले खेलमा २ गोलमा असिस्ट गरेका थिए।
खेलको सुरुआतमा अर्जेन्टिना केही दबाबमा परे पनि त्यसपछि उसले खेलमा लय समात्दै खेलको २८औं मिनेटमा गोल गर्न सफल भएको थियो। कप्तान लिओनल मेस्सीको पासमा युवा स्टार लौटारो मार्टिनेजले गोल गरी टिमलाई अग्रता दिलाएका थिए।
त्यसपछि अर्जेन्टिनाले पहिलो हाफको इन्जुरी समयमा अग्रता दोब्बर बनायो। पहिलो गोल गरेका मार्टिनेजले चलाखीपूर्वक दिएको क्रस पासमा एन्जल डि मारियाले बललाई चिप प्रहार गर्दै अर्जेन्टिनाले पहिलो हाफमा २–० को सहज अग्रता बनाएको थियो।
त्यसपछि खेलको ९१औं मिनेटमा मैदान छिरेका पाउलो डिबालाले ९४औं मिनेटमा गोल गरेपछि अर्जेन्टिनाको ३–० को शानदार जित पक्का भएको हो। डिबालाको गोलमा पनि कप्तान मेस्सीले नै असिस्ट प्रदान गरेका थिए।