काठमाडौँ - विश्वमै लोपन्मुख अवस्थामा रहेको सुगन्धकोकिला (मल्लागिरी)को उत्पादन यसवर्ष घटेको छ।
दाङको तुलसीपुर उपमहानगरपालिपका–१९ छिल्लीकोटमा पाइने सुगन्धकोकिलाको वर्षाका कारण उत्पादनमा गिरावट आएको हो। विगतका वर्षमा पाँचसय क्वीन्टल सुगन्धकोकिला उत्पादन हुने गरेकोमा यसवर्ष २५० क्वीन्टल पनि मुस्किलले उत्पादन भएको स्थानीयवासी प्रवीर पुनले बताए। “विगतका वर्ष पाँचसय क्वीन्टल उत्पादन हुने गर्थ्यो”, उनले भने, “तर, गएको वर्ष चैततिरको असिना सहितको बर्षाले फूल झारिदिएपछि उत्पादन आधाभन्दा कम मात्रै भएको छ।”
विश्वमै लोपोन्मुख मानिएको उक्त प्रजातिको वनस्पति छिल्लीकोटमा पाइन्छ। त्यसले नै त्यहाँको जीवनस्तरमाथि उठाउने गरेको हो। सुगन्धकोकिला प्रतिकिलो रु पाँचसयमा बिक्री हुँदै आएको छ। “हामीले रु. पाँचसयमा सुगन्धकोकिला बिक्री गर्ने गर्छौ तर यहाँबाट लिएर साहूले रु. छ सय प्रतिकिलोमा बाहिर पठाउँछन्।”, कृषक पुनले भने। घोराहीमा व्यापारीसँग सम्पर्क गरेर त्यहाँबाट सुगन्धकोकिला बिक्री गर्ने गरिन्छ।
सुगन्धकोकिला बाहिरी देशमा पठाइने गरिन्छ। यहाँबाट कच्चा सुगन्धकोकिला लगेपछि के–के बन्छ, भन्ने कुरा आफूहरूलाई थाहा नभएको स्थानीयवासी जीवराज रेउलेले बताए। “यहाँबाट हामीले कच्चापदार्थ बेच्छौँ, त्यसबाट उच्चस्तरको सेन्ट, अगरबत्ती बनाउन प्रयोग हुन्छ, भन्ने सुनिएको छ”, उनले भने, “तर, अरू केमा प्रयोग हुन्छ, भन्ने कुरा आफूहरूलाई पनि त्यति जानकारी नै छैन।” एउटा रूखले दुईसय किलोसम्म सुगन्धकोकिला उत्पादन हुने गर्छ। एउटै रुखबाट रु. ४० हजारदेखि त्योभन्दा बढी आम्दानी लिन सकिने कृषक रेउलेले बताए। छिल्लीकोटका दश गाउँका १३५ घरले नै सुगन्धकोकिलाबाट आम्दानी लिने गरेका छन्।
प्रत्येकको घरमा दशभन्दा बढी सुगन्धकोकिलाका रूख छन् भने सामुदायिक वनमा पनि उक्त रूख रहेको छ।