काठमाडौँ - गाउँमा ग्यास चुलोको प्रयोग बढ्दै र पशुपालन गर्ने किसानको सङ्ख्या घट्दै गएपछि दाउरा स्याउलाको उपयोगमा कमी आउँदा वन जङ्गल फडानी रोकिएको छ।
वनमा दाउरा, घाँस र स्याउला लिन गाउँले जान छोडेपछि म्याग्दीका सामुदायिक वन हराभरा भएका छन् भने वनमा कुकाठ र झाडी विस्तार हुँदै गएको स्थानीयवासीले बताएका छन्। म्याग्दीको बगरफाँट सामुदायिक वन, गौश्वारा सामुदायिक वन, भकिम्ली, अर्मन, बरङ्जालगायत ६४ वटा सामुदायिक वन अहिले हराभरा भएको जिल्ला वन डिभिजन कार्यालय म्याग्दीले जनाएको छ। समुदायस्तरबाट वनको संरक्षण थालिएपछि वनजङ्गलमा वृद्धि हुनुका साथै ग्रामीण रोजगारी र विपन्न समुदायको उत्थानमा सामुदायिक वन उपभोक्ता समूहहरूले महत्वपूर्ण योगदान गर्दै आएको सामुदायिक वन उपभोक्ता महासङघ म्याग्दीले जानकारी दिएको हो।
डेढ दशक अघिसम्म नाङ्गा डाँडा, खोला बगर, सार्वजनिक जग्गा अहिले बाक्लो वनका रूपमा परिणत भएकोमा स्थानीयवासी खुसी भएको बेनी नगरपालिका–२ का खड्गबहादुर थापाले बताए।