फेदीखोलामा पक्की पुल निर्माण

तनहुँ - तनहुँ को दुई पालिका जोड्ने फेदीखोलामा पक्की पुल निर्माण सम्पन्न भएको छ। भिमाद नगरपालिका र ऋषिङ गाउँपालिका जोड्ने फेदीखोलामा पक्की पुल बनेको हो। 

भिमाद–५ ऋषिङपाटन र ऋषिङ–८ पल्ट्याङ जोड्ने फेदीखोलामा विसं २०७७ माघदेखि पुल निर्माणको काम सुरु भएको थियो। वर्षायाममा खोला बढेर तर्न गाह्रो हुने ठाउँमा पुल बनेपछि स्थानीयवासी खुसी भएका छन्। पुलको प्रदेशको पूर्वमन्त्री किरण गुरुङले शुभारम्भ गर्दै अब यस भेगका जनताले खोला तरेर जोखिम मोल्नुपर्ने अवस्थाको अन्त्य भएको बताए। 

गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको रु तीन करोड ५८ लाख ३१ हजार नौ सय ८० को लागतमा फेदीखोलामा पुल निर्माण सम्पन्न भएको हो। पुल निर्माणका लागि विसं २०७७ असार २६ गते चितवनस्थित केबिसी बिल्डर्स कम्पनी प्रालिसँग सम्झौता भएको पूर्वाधार विकास कार्यालय तनहुँले जनाएको छ। २५ मिटर लामो पुलको चौडाइ ८.४ मिटर रहेको छ। छ मिटरमा गाडी गुड्ने र दायाँबायाँ १.४÷१.४ को पेटी निर्माण भएको छ। 

वर्षायाममा मान्छे बगाउने खोलामा पुल निर्माण भएपछि स्थानीयवासीलाई सहज भएको स्थानीयवासी एवं नेकपा एमाले ऋषिङ गाउँ कमिटीका अध्यक्ष गञ्जसिं गुरुङले जानकारी दिए। “हिउँदमा सामान्य भए पनि वर्षायाममा खोला बढेर तर्न एकदमै सकस हुन्छ”, उनले भने, “फेदीखोलामा पक्की पुल बनेपछि यहाँका स्थानीयवासीलाई अब सहज भयोे।”

फेदीखोला हिउँदको समयमा सुके पनि वर्षायाममा निकै ठूलो हुन्छ। खोला बढेको बेला वारपार गर्न सर्वसाधारणले सास्ती खेप्दै आएका छन्। यही खोलाले बगाएर विसं २०७५ जेठमा कक्षा सातमा अध्ययनरत एक बालकको मृत्यु भएको थियो। 

ऋषिङका विभिन्न वडाका सर्वसाधारणको प्रमुख व्यापारिक केन्द्र भीमाद बजार हो। उक्त गाउँपालिकाका सर्वसाधारण यही खोला तरेर भीमाद बजार आउने गर्दथे तर पुल बनेपछि अब खोला तर्नुपर्ने बाध्यताको अन्त्य भएको छ। फेदीखोलामा पक्की पुल बनेपछि भएपछि भीमाद र ऋषिङ हजाराँै सर्वसाधारण लाभान्वित भएका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×