काठमाडौँ - कतारमा जारी विश्वकप फुटबलमा उपाधिको दाबोदारमध्ये एक टोली हो-फ्रान्स। समूह 'डी'मा रहेको फ्रान्सले सन् २०१८ को उपाधिसमेत जितेको थियो। यसपटक पनि उपाधिमा कब्जा जमाउँदै लगातार दोस्रोपटक विश्वकपको उपाधि जित्ने फ्रान्सको दाउ हुनेछ।
यद्यपि यसपटक फ्रान्सको टोलीमा करिम बेन्जेमाको अभाव भने खड्किन सक्छ। तर, पछिल्लो समय राम्रो लयमा रहेका किलियान एमबाप्पेले टोलीलाई उपाधि जिताउनमा महत्वपूर्ण योगदान दिन सक्छन्। एमबाप्पे विश्वकप सकिएको २ दिनपछि २४ वर्षको हुँदैछन्। यस्तो अवस्थामा उनले आफ्नो टोलीलाई उपाधि जिताउन सकेको अवस्थामा उनी २४ वर्षभन्दा कम उमेरमा नै आफ्नो टोलीलाई २ पटक विश्वकपको उपाधि जिताउने पेलेपछि दोस्रो खेलाडी बन्नेछन्। आजै मध्यराति फ्रान्सले अष्ट्रेलियासँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ।
पेलेले आफू २४ वर्ष पुग्नुअघि नै ब्राजिललाई २ पटक विश्वकपको उपाधि जिताएका थिए। पीएसजीबाट व्यावसायिक फुटबल खेल्दै आएका एमबाप्पे गत गर्मीयाममा रियल मड्रिड जान अस्वीकार गर्दै पीएसजीमा आफ्नो सम्झौता नवीकरण गरेका थिए। उनीले पीएसजीमा यसै सिजनमा पनि राम्रो प्रदर्शन गर्दै आएका छन्। सन् २०२२/२३ को सिजनमा एमबाप्पेले पीएसजीका लागि २० खेलमा १९ गोल गरिसकेका छन्। यो क्रममा उनले ५ गोलमा एसिस्ट पनि गरेका छन्।
सन् २०१८ को विश्वकप जितेयता एमबाप्पेको प्रदर्शन निरन्तर निखारिँदै गएको छ। उनले २४ वर्षको उमेरमा ७ खेल खेलिसकेका छन्। यो उमेरमा सबैभन्दा बढी खेल खेल्ने कीर्तिमानमा उनी अर्जेन्टिनाका लियोनेल मेस्सीभन्दा १ खेलले मात्र पछाडि छन्। फ्रान्सको टोली सन्तुलित र उत्कृष्टमध्येको एक हो। तर, लगातार दोस्रोपटक विश्वकपको उपाधि उचाल्न भने उसलाई त्यति सजिलो छैन।
कतार विश्वकपमा फ्रान्सका केही महत्वपूर्ण खेलाडी चोटको कारण मैदानमा उत्रिनेछैनन्। पाउल पोग्बा, एनगोलो कान्टे, किम्पेम्बे, एनकुन्कु र बेन्जेमा पनि चोटको कारण मैदानमा उत्रिनेछैनन्।
यस्तोमा एमबाप्पेको काँधमा उनीहरुको अभाव खड्किन नदिनुपर्ने दबाब छ। एमबाप्पेसँगै फ्रान्सको टोलीमा एन्टोनी ग्रिजमेन र औस्माने डेम्बेलेजस्ता उत्कृष्ट खेलाडी पनि छन्।यद्यपि यसपटकको विश्वकपमा फ्रान्सको भविष्य धेरै हदसम्म एमबाप्पेको प्रदर्शनमा निर्भर रहन सक्छ।