म्याग्दी । बेनी नगरपालिका–६ अर्थुङ्गेमा रहेको जामुनाखर्क माध्यमिक विद्यालयले परियोजनामा आधारित शिक्षण विधि अपनाएको छ ।पाठ्यक्रममा भएका विषयलाई परियोजना कार्यको माध्यमबाट सहज र प्रभावकारी रुपमा विद्यार्थीलाई सिकाउने विधि सो विद्यालयले अपनाएको हो ।
प्रधानाध्यापक सोमनाथ ढुङ्गानाले अन्तर्राष्ट्रियस्तरमा नमूना मानिएका विद्यालयसँग सहकार्य गरेर पठनपाठन गराउन थालिएको बताए । “विद्यार्थीमा सिकाइ उपलब्धि बढाउन शिक्षा मन्त्रालय र ब्रिटिस काउन्सिलको इन्टरनेशनल स्कुल अवार्ड कार्यक्रममार्फत गत शैक्षिक सत्रदेखि सुरु भएको परियोजनामा आधारित शिक्षण विधि प्रभावकारी बनेको छ”, उनले भने, “पाठ्यक्रममा भएका विषय वस्तुलाई व्यवहारिक र प्रयोगात्मक रुपमा सिकाउन परियोजनामा सहभागी गराउँछौँ ।”
पाकिस्तानको जिएसएस थेसिल डिस्ट्रिक्ट टोबटेक सिंह विद्यालयसँग कक्षा ९ का विद्यार्थीले सामाजिक विषयको राष्ट्रिय व्यक्तित्व र विभूति भन्ने पाठमा, भारतको एमजी पब्लिक स्कुलसँग कक्षा ८ का विद्यार्थीले पानीको मुहान र स्रोत संरक्षणसम्बन्धी विषयमा सहकार्य गरेर पढेका थिए । कक्षा १० का विद्यार्थीले पाकिस्तानको एमसी ब्याइज सेन्टरल मोडल विद्यालयसँग आफ्नो भूगोलको नक्सा तयार पारेर आदानप्रदान गरेका थिए । पाकिस्तान र भारतको विद्यालयको कक्षा कोठामा भर्चुअल माध्यमबाट सिकाइ आदानप्रदान गरिएको हो।
कक्षा ६ र ७ का विद्यार्थीले बिहीबार बेनीको माउन्ट एभरेष्ट आवासीय माविको समान कक्षाका विद्यार्थीसँग साझेदारी गरेर धार्मिकस्थल महारानी थानमा पुगी धार्मिक तथा सांस्कृतिक सम्पदा र तीनको संरक्षण भन्ने पाठ अध्ययन गरेका छन् । कक्षा ४ र ५ का विद्यार्थीले गुन्द्री बुन्ने, कक्षा १ र २ ले व्यक्तिगत सरसफाइ, कक्षा ३ ले शारीरिक अभ्याससम्बन्धी विषयमा विद्यालयभित्रै प्रयोगात्मक कक्षामा सहभागी भएका विद्यालयका परियोजना शिक्षक मदन सुवेदीले बताए ।
“प्रस्ताव गरेअनुसार परियोजना कार्यान्वयन भए, नभएको र त्यसको प्रभावकारिताको विषयमा प्रतिवेदन, प्रमाणित गर्ने दृश्य र तस्बिर तथा स्थलगत मूल्याङ्कनको आधारमा तोकिएको मापदण्ड पूरा गरेमा तीन वर्षका लागि अन्तर्राष्ट्रियस्तरको मान्यता पाइन्छ”, उनले भने, “ प्रस्ताव गरेका सबै परियोजना कार्यान्वयन गरेर प्रतिवेदन तयारीमा छ ।”
नेपालमा सन् २०१३ यता २५० वटा विद्यालयले इन्टरनेशनल स्कुल अवार्ड पाएका छन् । जामुनाखर्कमा विसं २०७७ वैशाखदेखि सुरु भएको कार्यक्रमको गत चैतमा भएको मध्यावधि मूल्याङ्कनमा सकारात्मक प्रतिवेदन आएको थियो । एक वर्षको परियोजना कोरोना, निषेधाज्ञा र बन्दाबन्दीका कारण पठनपाठन बन्द हुँदा करिब छ महिना पछि धकेलिएको छ । कार्यक्रमअन्तर्गत शिक्षकको क्षमता तथा नेतृत्व विकासको लागि काउन्सिलले तालिम दिएको छ । ब्रिटिस काउन्सिलका परामर्शदाताको निगरानीमा परियोजना कार्यान्वयन हुने गरेको छ ।
एक पटकमा तीन वर्षसम्मका लागि मान्यता पाउने इन्टरनेशनल स्कुल अवार्डलाई कायम राख्न विद्यालयले परियोजनालाई निरन्तरता दिने व्यवस्थापन समितिका अध्यक्ष यादव सुवेदीले बताए। कक्षा १२ सम्मको पठनपाठन हुने जामुनाखर्क मावि शैक्षिक गतिविधीका हिसाबले म्याग्दी जिल्लामै नमूना मानिन्छ ।
विसं २०६० देखि २०७५ सम्म एसइई र एसएलसी परीक्षामा जिल्लामा सर्वोकृष्ट नतिजा ल्याएको ३०० अध्ययनरत यस विद्यालयका विद्यार्थीको सरदर सिकाइ उपलब्धि सिपल्स जिपिए छ । पुस्तकालय, कम्प्युटर ल्याब र सुविधा सम्पन्न पर्याप्त भवन निर्माण भएको यस विद्यालयको कक्षा ५ सम्म अङ्ग्रेजी माध्यमबाट पठनपाठन हुन्छ । शैक्षिक तथा भौतिक विकासका लागि शिक्षा मन्त्रालयको नमूना विद्यालय कार्यक्रम लागू गर्ने विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पार्ने कार्य अन्तिम चरणमा पुगेको छ ।