ऐतिहासिक षडानन्द सीताराम गुठीको संरक्षण गरिँदै

भोजपुर - दिङ्लास्थित ऐतिहासिक षडानन्द सीताराम गुठीको संरक्षण थालिएको छ।आबाल ब्रह्मचारी षडानन्द अधिकारीले विसं १९३२ मा संस्कृत पाठशाला सञ्चालनका लागि गुठीको स्थापना गरेका थिए।

गुरुकुलसहित यहाँका धेरै संरचना जीर्ण बनेपछि संरक्षणको थालनी गरिएको छ। विस २०७२ को विनाशकारी भूकम्पले यहाँका धेरै संरचनामा क्षति पुर्‍याएको छ। यहाँका छात्रावाससहितको तीन संरचनामध्ये दुई भत्किएका छन् भने एउटा जीर्ण अवस्थामा छ। जीर्ण बनेर भत्किएको एउटा भवन भने निर्माणको तयारी थालिएको षडानन्द सीताराम गुठीले जनाएको छ। प्रदेश नं १  सरकारले रु ३० लाख बजेट विनियोजन गरिदिएकाले एउटा संरचना निर्माणको काम अघि बढाउने तयारी रहेको गुठीले जनाएको छ।

बालागुरु षडानन्दले शिक्षाको ज्योति छरेको स्थल भएकाले विकास तथा विस्तारका लागि कामको थालनी गरिएको हो। यहाँ प्रदेश सरकारको लगानीमा करिब रु साढे चार करोड लागतमा बहुउद्देश्यीय धर्मशाला निर्माण सम्पन्न भइसकेको छ।

गुठी परिसरमा राम, सीताको मन्दिर रहेको छ। रामचन्द्र नर्मदेश्वर, शिवालय र पशुपतिका चार मन्दिर जीर्ण बन्दै गएका छन्। त्यस्तै बेद विद्याश्रम पढ्नका लागि भवनसमेत जीर्ण बन्दै गएको छ। सम्पूर्ण भवन माटोबाट बनेकाले जीर्ण अवस्था रहे पनि कामकाज भने त्यहीबाट हुँदै आएको छ। यी संरचनाको पनि संरक्षण गर्ने योजना रहेको गुठीले जनाएको छ। यहाँ रहेका २७ जना बटुकले (शिक्षार्थी) विभिन्न कर्मकाण्ड सिक्दै आएका छन्। यहाँ भागवत पुराण, चण्डीपाठलगायतको सिकाइ हुने गरेको छ। यसका अलवा अतिरिक्त विषयको रूपमा अहिले पनि संस्कृतसमेत पठनपाठन हुने गरेको छ।

आवश्यक संचरना नहुँदा उनीहरुलाई शिक्षा लिनसमेत समस्या हुँदै आएको छ। यहाँ पढाउने शिक्षकलाई महर्सी फाउण्डेशन काठमाडौँले तलबको व्यवस्था गरिरहेको छ भने गुठीका कर्मचारीलाई षडानन्द सीताराम गुठीबाट आएको आम्दानी र स्थानीयवासीले गरेको सहयोगले धान्दै आएको गुठीका अध्यक्ष प्रकाश पौडेलले जानकारी दिए।

गुठीको नाममा रहेको जग्गाको पनि खोजी थालिएको छ। गुठीको नाममा एक हजार सात सय रोपनी जग्गा रहेको बुझिए पनि हालसम्म एक हजार दुई सय रोपनी जग्गा मात्र पत्ता लागेको अध्यक्ष पौडेलको भनाइ छ। त्यो जग्गामध्ये करिब दुई सय २० रोपनी जग्गा भने बाँझो रहेको उनको भनाइ छ। खेती भइरहेको जग्गाबाट वार्षिक दुई सय मुरीको हारहारीमा धान आउने गरेको छ। सरदरमा प्रतिमुरी रु दुई हजार एक सयमा बिक्री हुने गरेको पौडेलको भनाइ छ। अध्यक्ष पौडेलले भने, “अहिले हामी षडानन्द महाराजले निर्माण गरेका संरचनाको संरक्षण तथा विकासमा जुटेका छौँ। संरक्षण अभावमा कतिपय ऐतिहासिक धरोहर जीर्ण बनेका छन्। विभिन्न निकायबाट सहयोग जुटाउने प्रयास भइरहेको छ।”

गुठीको नाममा रहेको बाँकी जग्गा पनि खोज्ने काम भइरहेको छ। स्थानीय निकाय तथा सरकारी तवरबाट यसका लागि सहयोगको आशा रहेको उनको भनाइ छ। गुठीको प्रमुख संरक्षकको रूपमा प्रमुख जिल्ला अधिकारी रहने व्यवस्था रहेको पनि उनले जानकारी दिए।

बजार क्षेत्रमा गुठीको नाममा रहेको जग्गा अतिक्रमणको चपेटामा परेको अध्यक्ष पौडेलको भनाइ छ। दिङ्ला बजार क्षेत्र र तुर्के बजार क्षेत्रमा स्थानीयले गुठीको जग्गा अतिक्रमण गरेका छन्। षडानन्द नगरपालिकासँग सहकार्य गरेर जग्गा फिर्ता ल्याउन पहल भइरहेको उनले जानकारी दिए।

गुठीको सीमित आम्दानी र दाताबाट सहयोग सङ्कलन गरेर काम गरिरहेकाले सोचेअनुरुप विकास हुन नसकेको देखिन्छ। गुठीबाट आएको आम्दानीले कर्मचारी र साना काम मात्र गर्न सकिएको पौडेलको भनाइ छ। अहिले पार्वती कुण्ड, हनुमान कुण्डको संरक्षण गरिएको छ। सीता कुण्डको पनि संरक्षण गर्ने लक्ष्य रहेको गुठीले जनाएको छ।  चार रोपनी क्षेत्रमा रहेको भित्री बगैँचाको पनि संरक्षण थालिएको छ। त्यहाँ कागती, सुन्तला लगाउने काम भइरहेको छ। त्यस्तै षडानन्दले नै स्थापना गरेको बाहिरी बगैँचाको पनि संरक्षण गर्ने तयारी रहेको गुठीको भनाइ छ। यहाँका बगैँचामा एक सय आठ प्रजातिका बोटबिरुवा रहेको स्थानीयको भनाइ छ।

यहाँ बालागुरु षडानन्दले नै साप्ताहिक हाट मेलाको सुरुआत गरेको जनाइएको छ। राम नवमीमा सतबिज मेला र चौमासा पुराण लाग्ने गरेको गुठीका अध्यक्ष पौडेलले जानकारी दिए। त्यस्तै तीज, ठूली एकादशीलगायतका अवसरमा भव्य मेला लाग्ने गरेको छ। यहाँ आएर दर्शन गरे सन्तान प्राप्ति हुने तथा बौद्धिक क्षमतामा वृद्धि हुने धार्मिक विश्वास रहेको छ।

तत्कालीन समयमा देशको पश्चिम नेपालका गुल्मी, सल्यान, प्यूठानसम्म र छिमेकी मुलुक भारतको सिक्किम तथा आसाम र भुटानलगायतबाट गुरुकूल शिक्षा लिन विद्यार्थी आउने गरेका थिए। अहिले पनि दाङ, स्याङ्जा, काठमाडौँ, धरान, विराटनगरलगायत अधिकांश ठाउँबाट दर्शन गर्न मानिस आउने धार्मिक समितिका संयोजक हरि भित्रीकोटीले जानकारी दिए। यहाँको संरचनाको संरक्षण तथा विकास गर्दै षडानन्दको महिमा, उनका दिव्यज्ञान र यहाँको धार्मिक विषेशताका विषयमा जानकारी दिन सके पर्यटकको सङ्ख्यामा वृद्धि हुने उनको भनाइ छ।

“यो स्थानको नेपालमा नै छुट्टै पहिचान छ”, संयोजक भित्रीकोटीले भने, “बालागुरु षडानन्दले शिक्षाको ज्योति फैलाएको पुण्यभूमि हो। यो षडानन्दको जन्मभूमि र क्रान्तियोद्धा योगमायाको कर्मभूमि हो। तर पनि यो स्थान ओझेलमा छ। यहाँको ऐतिहासिक धरोहरको संरक्षण गर्दै प्रचारप्रसार गर्न आवश्यक छ।” षडानन्दले शैक्षिक सुधारको काम, धार्मिक कार्य, पर्यावरण संरक्षण र कुरीति तथा दासप्रथाको अन्त्यका लागि गरेका चार काममध्ये समितिले धार्मिक संरक्षण तथा कुरीतिको अन्त्यका लागि मुख्यरूपले काम गरिरहेको संयोजक भित्रीकोटीले जानकारी दिए। सबै जातजातिलाई समेटेर सामूहिक धार्मिक कार्यक्रमसमेत गर्दै आएको उनले जानकारी दिए।

यहाँका धार्मिक तथा ऐतिहासिक संरचनाको संरक्षण गर्दै विकासमा स्थानीय सरकारले भूमिका खेल्ने षडानन्द नगर प्रमुख सुरेन्द्रकुमार उदासले जानकारी दिए। गुठीको नाममा रहेका सम्पूर्ण सम्पत्तिको खोजीका लागि नगरपालिकाले आर्थिक तथा प्राविधिक सहयोग गर्ने उनको भनाइ छ। “यो हाम्रो नगरपालिकाको सबैभन्दा ठूलो सम्पत्ति हो”, उनले भने, “यसको विकासमा हाम्रो भूमिका रहन्छ। ऐतिहासिक सम्पदाको संरक्षण गर्दै गुठीको नाममा रहेको जग्गा खोजीमा सहयोग गछौँ। गुठीको विधानअनुसार अतिक्रमणमा परेको जग्गा फिर्ता ल्याउन नगरपालिकाले पनि भूमिका खेल्नेछ।” खाँदबारीबाट आउने पर्यटकलाई भने अरुण नदीमा पुल नहुँदा आवगमनमा समस्या हुने गरेको छ। पुल बनेमा यहाँ आउने पर्यटकको सङ्ख्या वृद्धि हुने स्थानीयको भनाइ छ।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×