कालीगण्डकीका ३ हजार ४ सय घरधुरीमा एक घर एक धारा

स्याङ्जा - स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका तीन हजार चारसय  घरधुरीमा ‘एक घर, एक धारा’ जडान गरिएको छ। गाउँपालिकाले गण्डकी प्रदेश र संघीय सरकारको साझेदारी तथा विभिन्न दातृ निकायको सहयोगमा खानेपानीको अभाव भएका घरमा एक घर एक धारा जडान गरेको हो।

गाउँपालिकाको समस्याका रुपमा खानेपानी रहेको हुँदा जनप्रतिनिधि निर्वाचित भएर आइसकेपछि खानेपानीका क्षेत्रमा योजना अगाडि बढाएसँगै तीन हजार चारसय घरधुरीमा एक घर एक धारा जडान गर्न सकिएको गाउँपालिकाका खानेपानी सरसफाइ तथा स्वच्छता कार्यक्रम (वास) संयोजक भागिरथ अधिकारीले जानकारी दिए।

गाउँपालिकाले हालसम्म विभिन्न ३० साना ठूला खानेपानीका योजनाबाट उक्त घरधुरीमा एक घर एक धारामार्फत पानीको पहुँच विस्तार गरेको हो। उक्त आयोजनामध्ये १२ लिफ्टिङ छन् भने १८ ग्राभिटी योजना रहेको उनले जानकारी दिए।

यस पालिकालाई तीनतिरबाट कालीगण्डकी नदीले घेरेर गएकाले पानीका मुहान नदी किनारमा धेरै छन्। नदीभन्दा माथिल्लो भू-भाग वा पहाडको उच्च भागमा यहाँका बस्ती रहेकाले पिठ्युँमै पानी बोकेर दैनिकी चलाउनुपर्ने बाध्यता रहेको थियो।

'बद्लिँदो स्थानीयको दैनिकी, विद्युतीय उपकरणको प्रयोग, पाइप विस्तार, आधुनिक ट्याङ्की निर्माणलगायतका कार्यले तीव्रता पाएसँगै घरघरमा पानी पुर्‍याउन सकिएको छ', उनले भने, 'जसले गर्दा स्थानीयको दैनिकीमा सहजता आएको छ भने दैनिकी अब क्रियाकलापसँग जोडिँदै गएको छ।'

पशुपालन कृषि कार्य सरसफाइलगायतका काममा पानीको अभाव झेलेका यहाँका स्थानीयको जीवनयापन कष्टकर बनेको थियो। गाउँपालिकाले हालसम्म खानेपानीका क्षेत्रमा  पन्ध्र करोड ४९ लाख  रूपैयाँ बजेट विनियोजन गरी खर्च गरेको उनले बताए । घरघरमै धारा जडान भई पानी आएसँगै यहाँका स्थानीय बासिन्दा हर्षित छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×