नेपाल बैंक बागलुङको आफ्नै भवनबाट सेवा

काठमाडौँ - नेपाल बैंक बागलुङले आफ्नै भवनबाट सेवा दिन सुरुआत गरेको छ। 

बागलुङ नगरपालिका–३ स्थित आफ्नै जग्गामा रु. दुई करोड ३६ लाख ४२ हजार लागतमा भवन निर्माण गरिएको सो बैंकका शाखा प्रमुख अमृत सेवाले जानकारी दिए। बैंकको भवन जीर्ण भएपछि चार वर्ष अघि भाडाका घरमा सरेको थियो। बैंकले सुविधा सम्पन्न आफ्नै भवन निर्माण गरेर आइतबारदेखि सेवा दिन थालिएको उनले बताए। यसअघि सो बैंकले मासिक एक लाख भाडा तिरेर कार्यालय सञ्चालन गर्दै आएको थियो। बैंकको नाममा रहेको छ आना एक पैसा जग्गामा तीन तले सुविधा सम्पन्न भवन निर्माण भएर हस्तान्तरण भएपछि सेवा दिन थालिएको हो। ‘डेभ एण्ड सायर तिलक जेबी निर्माण कम्पनी’ ले भवन निर्माण गरेको थियो। 

२१ हजार बढी ग्राहकलाई सेवा दिइरहेको बैंकको आफ्नै भवन बनेपछि नयाँ एटीएम सेवा, लकर सेवा ग्राहकलाई पार्किङ सुविधासहितको सेवा दिएको शाखा प्रमुख सेवाको भनाइ छ। भाडाको घरबाट सेवा दिँदा निकै समस्या भएकोमा आइतबारदेखि आफ्नै भवनबाट सेवा दिँदा सहज हुने शाखाले अपेक्षा लिएको छ। घ वर्गको शाखामा दुई पटक उत्कृष्ट शाखाबाट सम्मानित भइसकेको छ। नेपाल बैंक लिमिटेडको देशभर २१३ शाखा १४८ एटीएम ५० वटा एक्टेन्सन काउन्टर, २० लाख ग्राहक रहेका छन्। बागलुङको शाखा र एक्सटेन्सन काउन्टरमा गरी २१ जना कर्मचारी कार्यरत छन्।

बागलुङ सदरमुकामसहित गलकोट र ढोरपाटन नगरपालिकामा बैंकको शाखा छ। नेपालकै सबैभन्दा पुरानो सो बैंकको बागलुङ शाखाले २०१७ साल माघ ४ गतेदेखि  वित्तीय सेवा दिँदै आएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×