काठमाडौँ - युरोपियन फुटबलको सर्वोच्च निकाय युइएफएले अर्थिक अनुशासन तोडेको भन्दै युरोपका ८ क्लबलाई जरिवाना गरेको छ।
युइएफएले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) सहित इटालीको एसी मिलान, इन्टर मिलान, रोमा, युभेन्टस, टर्कीको बेसिक्टास र फ्रान्सको मार्सेली र मोनाकोलाई जरिवाना गरेको हो। यी आठ क्लबले फेयर प्ले नियम तोडेको आरोपमा जरिवाना गरिएको हो।
पिएसजीलाई यूईएफएले विना कुनै शर्त ८.६ मिलियन पाउन्ड जरिवाना बुझाउन निर्देशन दिएको छ। साथै उसले भविष्यमा ५६.३ मिलियन पाउन्ड बुझाउनुपर्ने बताइएको छ। पिएसजीले पछिल्लो ३ वर्षमा आम्दानीको तुलनामा खर्च बढी गरेको पाइएको छ।
पिएसजीसँगै यी ८ क्लबले १४९ मिलियन युरो युइएफएलाई जरिवाना स्वरूप बुझाउनु पर्नेछ। युइएफएका अनुसार क्लबहरूले आम्दानी भन्दा धेरै खर्च गर्न नपाउने नियम छ। तर, नियम उल्लंघनको आरोपमा उक्त क्लबहरूलाई जरिवाना गरिएको हो।
यस्तै, युइएफएले थप १९ क्लबलाई निगरानी गरिरहेको भन्दै चेतावनी दिएको छ। जसमा चेल्सी, लेस्टर सिटी, म्यानचेस्टर सिटी, वेस्ट ह्याम र रेन्जर्सलगायत छन्।
खेलाडी अनुबन्धभन्दा भुक्तानीमा नियमभन्दा बढी खर्च गरेको आरोपमा यी क्लबमाथि कारवाही भएको हो। कारवाहीस्वरूप यी सबै क्लबले आर्थिक जरिवाना तिर्नुपर्नेछ।
आर्थिक संकट भए पनि यो समरमा खेलाडी अनुबन्धमा मोटो रकम खर्चिएको बार्सिलोना भने सोहीअनुसार खेलाडीलाई बाहिर पठाउँदै कारबाहीबाट बच्न सफल भएको छ। बार्सिलोनाले यो समरमा ८ नयाँ खेलाडी अनुबन्ध गरेको छ।