काठमाडौँ - महोत्तरीस्थित माध्यमिक विद्यालय भङ्गाहा सीतापुर सिद्धपुरमा कक्षा ६ मा अध्ययनरत छात्रा सोनी साह ‘टिफिन’पछि लाग्ने घण्टीको पर्खाइमा हुन्छिन्। विद्यालयमा आइतबारदेखि बिहीबारसम्म पाँचौँ घण्टीमा कम्प्युटर विषयको अभ्यास कक्षा हुने हुँदा टिफिनमा पनि सोनीको ध्यान ‘घण्टी लाग्यो कि’ भन्नेतर्फ केन्द्रित भएको हो।
“टिफिनमा खेल्ने सुरमा हुँइन्छ, कहिलेकाहीँ घण्टी लागेको पत्तै पाइँदैन, कम्प्युटर कक्षा छुट्ने हो कि भन्ने भइरहन्छ”, उनीले भनिन्। सोनीजस्तै उनका साथी सञ्जना सिंह, निक्की सिंहलगायतका छात्रालाई पनि टिफिनपछिको घण्टीको पर्खाइ हुन्छ। “अरु विषयको घण्टी कहिलेकाहीँ छुट्दा साथीहरूबाट पनि सोधपुछबाट बुझिन्छ, कम्प्युटर छुट्दाचाहिँ गाह्रो”, निक्कीले भनिन्। विद्यालयमा कक्षा ६ देखि ८ सम्मका छात्रछात्रालाई सातामा पाँच दिन पालैपालो कम्प्युटर अभ्यास गराइन्छ। पाँचौँदेखि सातौँ घण्टीसम्म फरक–फरक कक्षाको अभ्यास हुने र टिफिनपछिको पाँचौँ घण्टीमा कक्षा ६ को पालो हुँदा यस कक्षाका विद्यार्थीलाई ‘घण्टी लाग्यो कि?’ भनेर चनाखो रहेको हो।
विद्यालयमा २२ थान कम्प्युटर छन्। कक्षा ६ देखि ८ सम्मका विद्यार्थीको सङ्ख्या ३२१ छ। कक्षा–कक्षाको पालोमा एउटा कम्प्युटरमा दुई विद्यार्थी राखेर अभ्यास गराइने गरिएको विषय शिक्षक सञ्जयकुमार ठाकुर बताउँछन्। “हामीले कक्षा र विद्यार्थीको पालो मिलाएर अभ्यास गराएका छौँ, केही थान कम्प्युटर थप्न पर्ने छ, कम्प्युटर कक्षामा विद्यार्थीको चाप व्यवस्थापन गर्न हम्मेहम्मे पर्ने गरेको”, उनी बताउँछन्। कम्प्युटर कक्षा नयाँ विषय भएको र सघन अभ्यास गराइने हुँदा विद्यार्थीका लागि चाखलाग्दो बनेको छ। पालोमा पर्ने विद्यार्थीले हम्मेसी यो कक्षा नछाड्ने गरेका विषय शिक्षक ठाकुर बताउँछन्। “विषय प्रवेश, अभ्यास र छलफलले विद्यार्थीलाई उत्प्रेरित गराएको लाग्छ, यो कक्षामा विद्यार्थी बोझिलो अनुभूति गरेका हुँदैनन्”, उनी भन्छन्, “विद्यार्थीका लागि यो कक्षा मनोरञ्जन पनि बनेको छ।”
विद्यालयले चालुआर्थिक वर्षदेखि कम्प्युटर कक्षा सञ्चालनमा ल्याएको हो। कोभिड–१९ महामारीले लामो समय विद्यालय बन्द नै रहेको हुँदा भर्खरमात्र नियमित पठनपाठन हुन थालेको छ। यसअघि चार वर्ष पहिले जिल्ला शिक्षा विकास एकाइबाट प्राप्त २२ थान कम्प्युटर शिक्षकको अभावमा थन्किएर रहेका थिए। नगर कार्यपालिकाको कार्यालयले विषय शिक्षक दिएपछि बल्ल यसपालि कम्प्युटर कक्षा सञ्चालन गर्न सकिएको प्रधानाध्यापक श्रीराम यादवले जानकारी दिए। विद्यार्थी सङ्ख्याअनुसार कम्प्युटर अपुग रहेको हुँदा यसका लागि स्थानीय तहलाई झकझक्याइरहेको उनको भनाइ छ।
बाल कक्षादेखि १२ कक्षासम्म पठनपाठन हुने विद्यालयमा एक हजार ३६८ विद्यार्थी छन्। यसमा ७५५ छात्राको सङ्ख्या छ। त्यसैगरी, आधारभूततह (बाल कक्षादेखि आठसम्म) मा ८७६ जम्मा विद्यार्थीमध्ये छात्रा ४६२ छन्। यस्तै माध्यमिक तह (नौदेखि १२) मा ४९२ विद्यार्थीमध्ये २९३ छात्रा रहेका विद्यालय प्रशासनले जनाएको छ। जिल्लाकै पुरानामध्येको यो विद्यालय नगर क्षेत्रको मुख्य केन्द्र सीतापुरबजारमा रहेको हुँदा अन्यभन्दा विद्यार्थी चाप बढी छ। विद्यालयको नियमित पठनपाठनमा शिक्षक सङ्ख्या अपुग हुँदै आएको छ।
नगरपालिका भनिए पनि ग्रामीण परिवेशका नगर क्षेत्रका विद्यालयमा छात्रा सङ्ख्या बढी हुने गरेको छ। कम्प्युटर विषयलाई विस्तार गर्न सके नवीनतम् प्रविधिमा ग्रामीण छोरीको पहुँच बढ्ने हुँदा तीनै तहका सरकारले यस दिशामा पहलकदमी बढाउन आवश्यक रहेको यस भेगका बुद्धिजीवी बताउँछन्।