काठमाडौं । दुर्घटनामा परेको सौय एयरलाइन्स जहाजका क्याप्टेन मनीषरत्न शाक्यको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचार जारी छ । अस्पतालकी निर्देशक प्रा.डा. मीना थापाले क्याप्टेन शाक्यको अवस्था सामान्य रहेको र अन्य जटिलताहरू नदेखिएको जानकारी दिएकी छन् । क्याप्टेन शाक्यको आँखा, नाक र टाउकोमा चोट रहेको, ढाडको एउटा हड्डीका साथै देव्रेतर्फका तीन वटा करङ भाँचिएको अवस्था रहेको डा. थापाको भनाइ छ ।
‘आँखा, नाक र टाउकोमा लागेका चोटको बुधबार नै उपचार गरिसकिएको छ,’ उनले भनिन् । उपचाररत क्याप्टेन शाक्यको अवस्थाबारे काठमाडौं मेडिकल कलेजले बिहीबार दिउँसो विज्ञप्ति निकालेरै जानकारी गराएको छ । घाइते क्याप्टेन शाक्यको बुधबारदेखि सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको छ । क्याप्टेन शाक्यले डा. थापासँग जहाज दुर्घटनाका सन्दर्भमा केही कुरा जानकारी दिएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवेबाट जहाज उडाएर ५०–१०० फिटमाथि पुर्याएपछि आफूले नियन्त्रण गर्न नसकेको क्याप्टेन शाक्यले बताएका छन् ।
बुधबार बिहान ११ बजेर ११ मिनेटमा उडेको जहाज केहीबेरमै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमै दुर्घटनामा परेको थियो । जहाज दुर्घटनामा परेर १७ जना नेपाली र एक विदेशीको निधन भएको थियो भने क्याप्टेन शाक्य घाइते भएका थिए ।
अस्पतालकी निर्देशक डा. थापाले क्याप्टेन शाक्यसँग गरेको कुराकानी उद्धृत गर्दै जानकारी दिएकी हुन् । ‘जहाज उडाउन कोशिस गर्दै थिएँ, ५०–१०० फिट माथि गएको थियो । त्यसपछि कन्ट्रोल गर्न सकिनँ,’ क्याप्टेन शाक्यले बताएको कुरा उद्धृत गर्दै निर्देशक डा. थापाले सुनाइन्, ‘छिनमै जहाज तल झर्यो, मचाहिँ कता–कताबाट बाहिर निस्किएँ ।’ शाक्यलाई आइसियूमा राखेर उपचार गरिएको छ । सौर्य एयरको नाइनएन– एएमई / सिआरजे २०० कलसाइनको जहाज बुधबार दुर्घटनामा परेको थियो ।