आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट 

काठमाडौं - सर्लाहीको ईश्वरपुर नगरपालिका–३ भक्तिपुर चोक बस्ने चन्देश्वर चौधरीको किराना पसलमा करेन्ट सर्ट भई बुधबार दिउँसो आगलागी हुँदा घर र गोदाम जलेर करिब ७० लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । साथै आगो निभाउने क्रममा घाइते भएका सोही ठाउँ बस्ने १४ वर्षीय दीपक चौधरी अमृत हेल्थ केयर बयलबासमा उपचार पश्चात डिस्चार्ज भएका छन् भने १८ वर्षीय राम कुमार चौधरीलाई थप उपचारको लागि बर्न अस्पताल काठमाडौं रिफर गरिएको छ । 

अर्घाखाँचीको मालारानी गाउँपालिका–३ सापडाँडा बस्ने ज्ञान बहादुर विकको घरमा करेन्ट सर्ट भई बुधबार दिउँसो आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब ६ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

काठमाडौं महानगरपालिका–१२ टेकु डेरा गरी बस्ने काभ्रे पनौती घर भएका ४७ वर्षीय संन्जे सैजुको मेसेनेरी हेण्ड एण्ड टुल्स गोदाममा करेन्ट सर्ट भई बुधबार राति आगलागी हुँदा हेण्ड टुल्स, खानेपानीको पाइप लगायतका सामानहरू जलेर करिब ५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । 

बाँकेको कोहलपुर नगरपालिका–३ मदनचोकस्थित कमलनाथ योगीको घरमा डेरा गरी बस्ने हिरालाल दमाईको कृष्टिना ईम्पोरियम एण्ड टेलरिङ सेन्टरमा गएराति आगलागी भएको छ । उक्त आगो फैलिएर टेलरिङ सेन्टर रहेको पक्की घर र सोही घरमा रहेका अन्य ५ वटा पसलमा क्षति भएको छ । क्षतिको विवरण हाल खुलेको छैन । प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×