रोनाल्डोको कीर्तिमानी गोलमा युनाइटेडको रोमाञ्चक जित

काठमाडौँ - पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगअन्तर्गत गएरातिको खेलमा जित हात पारेको छ। उसले घरेलु टोली एभर्टनविरुद्ध २-१ को रोमाञ्चक जित हात पारेको हो।

गुडिसन पार्कमा युनाइटेडलाई जित दिलाउन एन्टोनी म्याथ्युज र क्रिस्टियानो रोनाल्डोले १/१ गोल गर्दा एभर्टनका लागि एलेक्स इवोबीले १ गोल गरेका थिए।

खेलको पाँचौ मिनेटमै इवोबीले  घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। १५ औं मिनेटमा एन्थोनी मार्टियलको पासलाई सदुपयोग गर्दै एन्टोलीले पाहुना टोलीलाई १/१ को बाराबरीमा ल्याएका थिए।

खेलको २९ औं मिनेटमा मार्टियलको स्थानमा मैदान प्रवेश गरेका रोनाल्डोले ४४ औं मिनेटमा गरेको गोल नै म्याचेस्टरको जितमा निर्णायक बन्यो। उनले क्यासमिरोको पासलाई पोस्टको दिशा दिएका थिए। यो रोनाल्डोको क्लब करिअरको ७०० औं गोल हो।

उनले ९४५ खेलमा ७०० गोलको आँकडा पार गरेका हुन्। रोनाल्डोले स्पोर्टिङ सिपीबाट ३१ खेलमा ५ गोल, म्यानचेस्टर युनाइटेडबाट २९२ खेलमा ११८ गोल, रियाल मड्रिडबाट ४३८ खेलमा ४५० गोल र युभेन्टसबाट १३४ खेलमा १०१ गोल गरेका छन्। गत सिजन युनाइटेड फर्किएका रोनाल्डोले यस सिजनसहित ४८ खेलमा २६ गोल गरेका छन्।

जितसँगै ८ खेलमा १५ अंक जोडेको युनाइटेड पाँचौ स्थानमा रहँदा पराजित एभर्टन ९ खेलमा १० अंकका साथ १२ औं स्थानमा रहेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×