काठमाडौँ - अरहन्त सिंह र अमृत थापा मगरबीच ओलम्पिक डे स्क्वास प्रतियोगिताअन्तर्गत पुरुष एकलको फाइनल भिडन्त हुने भएको छ।
नेपाल स्क्वास एन्ड र्याकेट्स संघको आयोजनामा भएको प्रतियोगिताअन्तर्गत सेमिफाइनलमा अरहन्तले दिपक थापालाई ११-४, ११-४, ११-६ तथा अमृतले अमिर ब्लोनलाई ११-६, ११-४, ११-९ को सोझो सेटमा हराए।
महिला सेमिफाइनलमा विपना ब्लोनले स्वास्थानी श्रेष्ठलाई ११-२, ११-९ र १४-१२ तथा वृष्णा गुरुङले अनुभवी भावना सुनुवारलाई ४-११, ११-३, ११-३, ११-६ ले पराजित गरे। यसैगरी, भेटान्स (५०वर्ष माथि)को फाइनल विनोद शाक्य व प्रवीण कंसाकारबीचकाे प्रतियोगता शनिबार सम्पन्न हुनेछ।
यसैबीच ओलम्पिक दिवसकै अवसरमा काठमाडौं जिल्ला सुटिङ संघले सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा शुक्रबार वृक्षरोपण र सरसफाइ गरेको छ।