काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेस्थित सडकबाट अवैध लागूऔषध गाँजाकरिब १ सय ५५ किलोग्रामसहित चितवन राप्ती नगरपालिका–२ गड्यौली बस्ने ३६ वर्षीय सुनिल मुक्तानसमेत २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुर र प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले पथलैयातर्फ जाँदै गरेको ना.५ ख १११८ नम्बरको ट्रक जाँच गर्ने क्रममा हुटमा फल्स बटम बनाई लुकाईछिपाई राखेको उक्त गाँजा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो।
यसैगरी मकवानपुरको भिमफेदी गाउँपालिका–१ सामरी पुलस्थित सडकबाट अवैध लागूऔषध गाँजा१ सय ७५ किलोग्रामसहित हेटौंडा उपमहानगरपालिका–४ बस्ने ५१ वर्षीय पूर्ण बहादुर रूम्बालाई बिहिबार बिहान प्रहरीले पक्राउ गरेको छ । बाग्मती प्रदेश प्रहरी कार्यालय हेटौंडा र जिल्ला प्रहरी कार्यालयबाट खटिएको संयुक्त प्रहरीले बा.३ ख ४६१ नम्बरको मिनीट्रकलाई जाँच गर्ने क्रममा ट्रकको पछाडि भागमा पल्स बटन बनाई लुकाईछिपाई राखेको उक्त गाँजा फेला परीचालक पूर्ण बहादुरलाई पक्राउ गरेको हो।
पर्साको वीरगंज महानगरपालिका–१७ अलौबाट अवैध लागूऔषध गाँजा२ किलो ५ सय ग्रामसहित बहुदरमाई नगरपालिका–७ फूलकौल गाउँ बस्ने ३१ वर्षीय विश्वेश्वर प्रसाद यादवलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी खलवाटोला श्रीसियाबाट खटिएको प्रहरीले भारततर्फ जाँदै गरेको मोटरसाइकललाई रोकी जाँच गर्न खोज्दा चालक फरार भएको र पछाडि सवार उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । हाल फरार मोटरसाइकल चालकको खोजी भइरहेको छ।
भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–५ कमेरेटारबाट अवैध लागूऔषध गाँजाकरिब ८ किलो ९ सय ग्रामसहित सोही ठाउँ बस्ने सिन्धुली घ्याङलेख गाउँपालिका–३ घर भएका ४५ वर्षीय राम कुमार तामाङलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्तठिमीबाट खटिएको प्रहरीले बा.प्र.०२–०३४ प ०१७८ नम्बरको स्कुटर जाँच गर्ने क्रममा स्कुटरमा सवार उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो।
झापाको दमक नगरपालिका–१ घर भई शिवसताक्षी नगरपालिका–१० टेकक्रा बस्ने २६ वर्षीय प्रदिप तामाङलाई अवैध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ८७ मिलिग्राम र नगद २० हजार ४ सय २० रुपैयाँ सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थाई प्रहरी पोष्ट माइधारबाट खटिएको प्रहरीले उनको घर तलासीगर्दा उक्त पदार्थसहित उनलाई पक्राउ गरेको हो।
सुनसरीको धरान उपमहानगरपालिका–८ तिनकुनेस्थित सडकबाट नियन्त्रित लागूऔषध ट्रामानिल ९ हजार ९ सय क्याप्सुलसहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ईटहरी उपमहानगरपालिक–८ बस्ने २४ वर्षीय कृष्ण बहादुर विक र सोही उपमहानगरपालिका–१७ बस्ने २५ वर्षीय दिनेश निरौला रहेका छन् । अस्थायी प्रहरी चौकी तिनकुने धरानबाट खटिएको प्रहरीले बिराटनगरबाट धरानतर्फ आउँदैगरेको को.१ ख ४७४७ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसका चालक विक र सहचालक निरौलालाई पक्राउ गरेको हो।
कास्कीको पोखरा महानगरपालिका–५ मालेपाटनस्थित सडकबाट अवैध लागूऔषध चरेशजस्तो देखिने पदार्थ १ सय ५० ग्रामसहित २ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही महानगरपालिका–५ बस्ने २१ वर्षीय नितेश पाण्डे र ३० वर्षीय नवीन सुनार रहेका छन् । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले पैदल हिँडिरहेका उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।