काठमाडौँ - सन् २०२३ मा सांगीतिक समूह अभया सुब्बा एण्ड स्टिम इन्जिन्सले २० वर्ष टेक्दैछ। ब्यान्ड स्थापना भएको २ दशक पुग्नै लाग्दा गायिका अभया सुब्बाले अब आफूलाई प्रमाणित गर्नुपर्ने बेला आएको बताएकी छिन्।
सन् २००३ मा ब्यान्ड गठन भएयता आफ्नो सांगीतिक करिअरलाई लिएर अभयाको यो ठूलो ‘स्टेटमेन्ट’ हो। ब्यान्डले २० वर्ष टेक्नै लाग्दा सामाजिक सञ्जालमार्फत अभयाले अब आफूलाई प्रमाणित गर्नुपर्ने बेला आएको उल्लेख गरेकी छिन्।
उनी लेख्छिन्, ‘म केही सोलो प्रोजेक्ट घोषणा गर्दैछु। स्टिम इन्जिन्सको निरन्तरताको लागि मात्र हैन, म आफैंलाई प्रमाणित गर्न पनि गहिरो आवश्यकता छ। म आफैंले संगीत लेख्न, उत्पादन गर्न र सिर्जना गर्न सक्छु भन्ने मलाई थाहा हुनुपर्छ।’
उनले अब आफू गायिका मात्र भनेर चिनिन नचाहेको बताएकी छिन्। ‘यत्तिका वर्षदेखि मलाई मेरो ब्यान्डले साथ दिंदै आएको छ। तर अब मलाई गायिका भनेर चिनिने आवश्यकता नभएको महसुस हुँदैछ। मैले १९ वर्षदेखि ब्यान्डका अधिकांश गीत लेख्दै र कम्पोज गर्दै आएकी छु।’
‘लैजाऊ मलाई नितान्त एकल प्रोजेक्ट थियो। तर यतिबेला म केही गीतहरु आफ्ना लागि लेख्न चाहन्छु। मलाई आशा छ कि ब्यान्ड २० वर्ष पुग्नुअघि तपाईंले मेरो इच्छालाई समर्थन गर्नुहुनेछ,’ उनी लेख्छिन्।