जलवायु परिवर्तनको असर घरको बनोटदेखि स्याउखेतीसम्म

काठमाडौँ - गत वर्ष जेठ र असारमा आएको भारी वर्षाबाट धेरै क्षति पुगेको छ। 

सामान्यतः पानी नै नपर्ने र परिहाले पनि अत्यन्त कम पर्ने हिमाली क्षेत्रमा वर्षा हुने गरेको छ। जलवायु परिवर्तनले हिउँसँगै पानी पर्न थालेपछि हिमाली क्षेत्र मनाङ जिल्लामा पक्की घर बन्न थालेका छन्। वर्षाका कारण हिमाली क्षेत्रमा रहेका परम्परागत तथा पुराना माटोका घर मासिँदै गएका छन्। हिमाली क्षेत्रमा माटाको घरभन्दा सुरक्षित हुने भएकाले पनि पक्की घर बनाउनतर्फ स्थानीयवासी लाग्ने गरेको पाइन्छ। मनाङमा सदियौँ पुराना माटाले निर्मित परम्परागत घर छन्। सडक सञ्जाल जोडिएसँगै ऐतिहासिक घर क्रमशः मासिन थालेका हुन्। सडकको पहुँच, आधुनिकता र जलवायु परिवर्तनका कारण हिउँ नपरी वर्षा हुन थालेपछि माटाले बनेका घर लोप हुने क्रममा छन्। माथिल्लो मनाङ र नार्पाभूमि क्षेत्रबाहेक अन्य क्षेत्रमा माटाका घर कमै पाइन्छ। हिउँ पर्दा घरमाथि  थुप्रिएर बस्थ्यो तर पनि सुरक्षित होइन्थ्यो। हिमपातसंँगै वर्षा भएपछि माटाले बनेका घरले थेग्न नसकेर चुहिने, भत्किने क्रम बढेपछि पुराना घर मासिन थालेको स्थानीयवासी बताउँछन्। 

एक दशकअघिसम्म हिउँ मात्र पर्ने क्षेत्र माथिल्लो मनाङ, नार्पाभूमि चामेलगायत स्थानमा जलवायु परिवर्तनको असरसँगै वर्षा हुन थालेपछि परम्परागत तवरले निर्माण भएका माटाका संरचना प्रत्येक वर्ष जोखिममा पर्दै गएका छन्। माटाको सहरका रूपमा छुट्टै मौलिकता तथा पहिचान बनेका बस्ती वर्षा हुने क्रमसँगै पग्लन र भत्कन थालेपछि सिमेन्टको प्रयोग र जस्ताले छाउन बाध्य हुनुपरेको चिन्ता स्थानीयवासीमा छ। मनाङमा कम पानी पर्ने भएका कारण यहाँका अधिकांश घर माटाले छाइएका छन्। छतमा जमेको हिउँ फालिदिएपछि अन्य कुनै समस्या बेहोर्नुपर्ने अवस्था थिएन। प्रायः चिसो भइरहने भएका कारण माटाले बनाइएका यहाँका घर वातावरणानुकूलका मानिन्छन्। माटो छाइएका घरमा बाहिर जस्तोसुकै हिउँ परे पनि भित्र न्यानो भइरहन्छ। पछिल्ला वर्ष हिउँ पर्न छाडेर पानी पर्ने क्रम बढिरहेका कारण बस्तीहरू उच्च जोखिममा छन्।

प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले हिमाली जिल्लामा पानी पर्ने क्रम बढिरहँदा माटाले बनेका संरचना जोगाउने चुनौती थपिएको बताए। उनका अनुसार हिमाली क्षेत्रमा पानी पर्ने क्रम बढेसँगै यहाँ माटाले बनेका घर तथा बस्ती एवं दुई चार सय वर्ष पुराना गुम्बा, मठमन्दिरलगायत प्राचीन सम्पदा जोगाउन यतिखेर गम्भीर चुनौतीका रूपमा देखिएको छ। यसरी माटाले बनेका संरचना सङ्कटग्रस्त बनिरहेको स्थानीयवासीको भनाइ छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×