काठमाडौँ - राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय राष्ट्रपतिमा निर्वाचित द्रौपदी मुर्मूलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन्। ट्वीटरमार्फत राष्ट्रपति भण्डारीले द्रौपदीको कार्यकालमा दुई देशबीचको सहकार्यले नयाँ उचाई प्राप्त गर्ने विश्वास व्यक्त गरेकी छिन्।
राष्ट्रपतिको ट्वीटरमा भनिएको छ, ‘मित्रराष्ट्र गणतन्त्र भारतका पन्ध्रौँ राष्ट्रपति निर्वाचित हुनुभएकोमा महामहिम द्रौपदी मुर्मूज्यूलाई म हार्दिक बधाई तथा शुभकामना ज्ञापन गर्न चाहन्छु। यहाँको कार्यकालमा हाम्रा दुई देशबीचको सहकार्यले नयाँ उचाई प्राप्त गर्नेमा म पूर्ण विश्वास व्यक्त गर्दछु।’
यस्तै प्रधानमन्त्री देउवाले पनि मूर्मको कार्यकालमा दुई देशबीचको सम्बन्धले थप उचाइमा पुग्ने विश्वास व्यक्त गरेका छन्। मुर्मू बिहीबार भारतीय राष्ट्रपतिमा भारी मतका साथ विजयी भएकी हुन्। उनको शपथ २५ जुलाईमा हुनेछ।