काठमाडाैँ - कार्लो एन्सेलोट्टीलाई रियल म्याड्रिडले सफलताकै लागि भनेर फिर्ता बोलाएको थियो। र, सफलता पनि मिलेको छ रियललाई। यसकै एउटा कडी हुनेछ रियलले शनिबार खेल्ने युरोपेली च्याम्पियन्स लिगको फाइनल।
अहिलेसम्म कोही पनि प्रशिक्षकले पाँचपल्ट च्याम्पियन्स लिगको फाइनल खेलेको कीर्तिमान छैन। जुन अब यी ६२ वर्षीय प्रशिक्षकमा नाममा बन्ने छ।
पछिल्ला चार फाइनलमध्ये तीनमा उनको टिम नै विजयी छ। यसमध्ये पनि पहिलो सफलता सन् २००३ मा मिलेको थियो। दुई दशकजति अगाडि एसी मिलानका लागि। तर, उनी जत्तिका प्रशिक्षक भने च्याम्पियन्स लिगको फाइनल भनेपछि आत्तिने रहेछन्। उनले ठट्यौलो पारामा भनेका छन्, ‘खेल अगाडिको ३–४ घण्टा वास्तवमै निकै तनावपूर्ण हुन्छ। शारीरिक रूपमा पनि यो समय गाह्रो हुन्छ। यसपल्ट मैले अलि बढी नै तनाव बेहोरेको छु।’
खचाखच भरिएको मिडिया कन्फ्रेन्समा उनले थपे, ‘म त खेलको तनावले पसिना–पसिना हुने गर्छु। मनको ढुकढुकी बढ्ने गर्छ र मनमा अनेक खराब विचार आउने गर्छन्। फुटबलमा यस्तो स्थिति हुँदा त्यसबाट बच्नका लागि अहिलेसम्म कुनै पनि औषधि बनेको छैन। हाम्रो काम भनेको त्यसलाई सामना गर्ने नै हो।’ यसै क्रममा उनले थपे, ‘फाइनलमा खेल हेर्ने र त्यसको मज्जा लिने त हो।’
उनी भन्छन्, ‘हामी शान्त र चुपचाप छौं। लिभरपुल पनि शान्त र चुपचाप नै छ। सबै खुसी छन्। निश्चित छ फाइनलका बेला रमाइलो वातावरण रहनेछ। खेल जति–जति नजिक आउने गर्छ, सबैको तनाव बढ्ने गर्छ। अहिले तत्काल हामीले सोच्ने भनेको एक अर्को फाइनल खेल्न लागेका छौं भनेर मात्र हो।’
रियलले यसपल्ट स्पेनी ला लिगा चार चरणको खेल बाँकी छँदै जितेको थियो। केही महिनाअगाडि मात्र रियलमा सर्जियो रामोस र राफेल भाराने गएपछि रक्षापंक्तिको समस्या थियो। त्यसलाई पनि एन्सेलोट्टीले ठीक पारिसकेका छन्। अहिलेको टिममा उनले एक नयाँ स्टार पनि खोजेका छन्। उनी हुन् भिनिसियस जुनियर। उनी भर्खर २१ वर्षमात्र पुगेका ब्राजिली खेलाडी हुन्।
यी खेलाडीलाई लिएर एन्सेलोट्टी भन्छन्, भिनिसियस जुनियरको खुट्टामै मोटरबाइक छ जस्तो लाग्छ। त्यसमाथि रियलसँग करिम बेन्जेमा जस्ता खेलाडी पनि छन्। एन्सेलोट्टी भन्छन्, ‘क्लोप र थोमस टचेल त्यस्ता जर्मन रणनीतिकार हुन्, जसले आ–आफ्नो टिममा गहनता ल्याएका छन्। मलाई के लाग्छ भने म आफैं पनि पुरानो पुस्ताका प्रशिक्षकमा पर्दिनँ। मैले फुटबलमा आएको परिवर्तन आफ्नै आँखाले देखेको छु। फुटबल मैदानमा मात्र होइन, दिमागमा पनि खेलिन्छ।’