काठमाडौँ - दुई महिनाअगाडि सिनेमा घरहरूमा रिलिज भएको आमिर खानको फिल्म 'लाल सिंह चड्ढा' ओटिटीमा रिलिज भएको छ।
आमिर खानसँगै करिना कपुरको पनि मुख्य भूमिका रहेको 'लाल सिंह चड्ढा' धेरै वर्ष लगाएर बनेको फिल्म हो। अंग्रेजी फिल्म 'फरेस्ट गम्प' को रिमेक यो फिल्म बक्स अफिसमा भने फ्लप भएको थियो। गत अगस्ट ११ रिलिज भएको यही फिल्मबाट आमिर खानले ४ वर्षपछि बलिउडमा कमब्याक गरेका थिए।
'मिस्टर परफेक्सनिस्ट' का रूपमा चिनिने आमिरको यो फिल्म हिट हुने निकै आशा गरिएको थियो। तर यसले दर्शक रिझाउन सकेन। दर्शक तान्न नसकेपछि फिल्म रिलिज भएको केही दिनमै शोहरू रद्द भएका थिए।
१ सय ८० करोड भारू हाराहारीमा बनेको यो फिल्मले मुश्किलले विश्वव्यापी रूपमा १ सय ३० करोड भारू कमाएको छ। अब भने यो फिल्म ओटिटीमा हेर्न पाइने भएको हो। यो फिल्म नेटफ्लिक्समा रिलिज भएको छ।
नेटफ्लिक्सले आफैं सामाजिक सञ्जालमार्फत् यसबारे जानकारी दिएको हो। नेटफ्लिक्सको ट्विटमा भनिएको छ, 'तपाईंहरू पपकर्न र गोलगप्पा तयार राख्नुहोस्। किनकी लाल सिंह चड्ढा रिलिज भएको छ।'
फिल्ममा दक्षिण भारतीय अभिनेता नागा चैतन्यको पनि मुख्य भूमिका रहेको छ। उनले यो फिल्मसँगै बलिउडमा डेब्यु गरेका हुन्।