विराटनगर - विराटनगरस्थित एतिहासिक, धार्मिक र साँस्कृतिक महत्वका मण्ठापोखरी र बाबा वाणेश्वरनाथ मन्दिरको संरक्षण र सम्वर्द्धन नहुँदा ओझेलमा पर्दै गएको छ।
विराटनगर महानगरपालिका–१४ रानीस्थित मण्ठापोखरी र वाणेश्वरनाथ महादेव मन्दिर संरक्षण अभावमा ओझेलमा पर्दै आएको हो। साढे नौ कट्ठा जलक्षेत्र रहेको पोखरीकै उत्तरतर्फको डिलमा बाबा वाणेश्वरनाथ महादेव मन्दिर अवस्थित छ। एक सय १० वर्षअघि निर्माण भएको उक्त मन्दिर संरक्षण नहुँदा जीर्ण देखिएको छ। आधुनिक विराटनगरको इतिहासभन्दा पनि पुरानो रहेको यो मन्दिर विसं १९६८ मङ्सिर ९ गते निर्माण भएको मन्दिरको शिलालेखमा उल्लेख छ। तत्कालीन महन्थ डिगेश्वर भयरोगिर तथा उनका चेला घेला गङ्गागिरले मन्दिर निर्माण गराएको शिलालेखमा अङ्कित छ। मण्ठापोखरी र मन्दिर रहेको यो स्थानमा हाल एक बिघा १५ कट्ठा जग्गा छ।
मण्ठापोखरीको लागि यसका संस्थापकले झण्डै सात बिघा जग्गा राखेको भए पनि हाल ती जग्गामध्ये अधिकांश जग्गा मन्दिरको नियन्त्रण बाहिर छ भने छेउछाउका जग्गा अतिक्रमणमा परेको सम्बन्धित समितिका सदस्य अनन्तलाल यादवले बताए। मन्दिर सञ्चालन तथा संरक्षणका निम्ति आयआर्जनको जोहो गर्न मन्दिरभन्दा दक्षिणतर्फ रहेको साढे पाँच बिघा जग्गा यतिखेर विराटनगर–१७ का केही मानिसले जोतभोग गरिरहेको स्थानीयवासीको गुनासो छ। सो जग्गा उपभोगबापत आउनुपर्ने आम्दानी मन्दिरले हासिल गर्न नसकेको समितिले जनाएको छ।
चतरा गुठीको नाममा रहेको सो जग्गा अहिले उपभोग गरिरहेका मानिसले पाँच दशकअघि नै ठेक्कामा लिए पनि त्यसबापतको दस्तुर नबुझाएको समितिका सदस्य रामजी मण्डलले बताए। मन्दिरको आयआर्जनका निम्ति राखिएको जग्गा हाल व्यक्तिले निजी उपभोग गरिरहेका छन्। मन्दिरको जग्गा उपयोग गरेबापत उनीहरुले दस्तुरसमेत नबुझाइरहेकाले त्यसलाई मन्दिरको नियन्त्रणमा ल्याउन आफूहरुले पहल थालेको बाबा वाणेश्वरनाथ शिव मन्दिर, मण्ठापोखरी समितिका अध्यक्ष गङ्गाप्रसाद यादवले बताए।
यो पोखरी प्राचीन विराट राजा दरबारको पेरिफेरीमा रहेको छ। पोखरी रहेको स्थानभन्दा एक किमी र दक्षिण भेडियारीमा राजा विराटको प्राचीन दरबारसमेत छ। दरबार क्षेत्रमा केही समय अघि गरिएको आंशिक उत्खननमा त्यस ठाउँमा साढे दुई हजार वर्ष पुरानो संरचना फेलापरेको छ। भेडियारीको सो क्षेत्रमा महाभारतकालमा पाण्डवले गुप्तवास बसेको र राजा विराटका रानीहरु नुहाउन यस मण्ठापोखरीमा आउने गरेको किम्वन्दती रहेको स्थानीयवासीको भनाइ छ।
प्राचीन र धार्मिक महत्वको मण्ठापोखरीको यो क्षेत्रलाई व्यवस्थित गर्दै प्रवद्र्धन गर्नसके थप धार्मिक पर्यटक आर्कषित गर्न सकिन्छ। एतिहासिक, धार्मिक र साँस्कतिक महत्वका यी सम्पदाको संरक्षणमा सबै पक्ष एकजुट हुन आवश्यक छ”, समितिका अध्यक्ष यादवले भने, “महानगरपालिका र प्रदेश सरकारको पनि यसमा ध्यान जाओस्।” मन्दिरको नाममा रहेको जग्गाको दस्तुर नआएपछि नियमित पूजाअर्चना व्यवस्थापनमा समस्या हुने गरेको बताइएको छ।