काठमाडौँ - अस्पतालमा रगत दिएर उपचार गर्नुपर्ने बिरामी र आकस्मिक दुर्घटनाका कारण रगत चाहिने व्यक्तिका आफन्तले पैसा तिरेर रगत किन्नुपर्ने अवस्था छ।
अस्पताल र चिकित्सकको सिफारिसमा रक्त सञ्चार केन्द्रबाट रगत खरिद गर्दा एक पिन्टको रु एक हजारसम्म शुल्क बिरामीका आफन्तले तिर्दै आएका छन्। पोखराको रामघाटमा अवस्थित प्रादेशिक रक्तसञ्चार केन्द्रले सरकारी अस्पतालमा उपचार गराइरहेका बिरामीलाई रगतको रु. ७०० र निजीका लागि रु. एक हजार लिने गरेको छ। रक्तदाताले स्वेच्छिक दिएको रगतको शुल्क लिने नहुने र निःशुल्क हुनुपर्ने माग हुँदै आएकामा अब गण्डकी प्रदेशका सम्पूर्ण स्वास्थ्य संस्थामा उपचार गराइरहेका बिरामीलाई निःशुल्क रगत उपलब्ध हुने भएको हो।
बिरामीले अब कुनै शुल्क तिर्न नपर्ने र सित्तैमा रगत दिने व्यवस्था सरकारले गरेको छ। आगामी फागुन १ गतेदेखि प्रदेशभित्रका सबै सरकारी तथा निजी अस्पतालमा रगत निःशुल्क गर्ने निर्णय प्रदेश सरकारले गरेको हो। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तयार पारेको ‘रगत तथा रगतजन्य सेवा निःशुल्क व्यवस्थापन कार्यविधि २०७८’ सोमबारको मन्त्रिपरिषद् बैठकले पारित गरेसँगै बिरामीलाई निःशुल्क रगत उपलब्ध गराइने स्वास्थ्यमन्त्री मधु अधिकारीले बताए।
प्रदेश सरकारले यसअघि गत मङ्सिर ८ गते पहिलोपटक प्रदेश स्वास्थ्य नीति जारी गरेको थियो।