गुल्मी - तम्घासमा जारी गुल्मी महोत्सवको सातौं दिन बिहीबार चर्चित लोक गायक पशुपति शर्मा र शान्तिश्री परियारले सांगीतिक प्रस्तुति दिएका छन्।
नयाँ वर्षको पहिलो दिन भएकाले महोत्सवमा ठूलो संख्यामा दर्शकको उपस्थिति रहेको थियो। पशुपति र शान्तिश्रीको गीत सुन्न आएका दर्शकले ठूलो स्वरमा हुटिङ गर्दै साथ दिएका थिए। महोत्सवमा पशुपति आफ्ना चर्चित आधा दर्जन गीत गाए। त्यसपछि स्टेजमा उक्लिएकी शान्तिश्रीले सुरुमै आफ्नो लोकप्रिय गीत ‘बोल माया’ गाएर दर्शकलाई भावुक बनाइन्। त्यसपछि एकपछि अर्को चर्चित गीत प्रस्तुत गर्दै दर्शकलाई झुमाइन्।
उक्त महोत्सवमा पुरुषोत्तम भण्डारी, गणेश अधिकारी, सन्तु थपा, सुरेश श्रीप्रसाद थापा, अस्मिता जीएम, लक्ष्मण खड्का लगायतका कलाकारले पनि सांगीतिक प्रस्तुति दिएका थिए।
नयाँ वर्षको दिन १५ हजारभन्दा बढी दर्शकले महोत्सव अवलोकन गरेको टिकट व्यवस्थापन समितिका संयोजक मृगेन्द्रप्रसाद श्रेष्ठले बताए। उद्योग वाणिज्य संघ गुल्मीको आयोजनामा ‘गुल्मी जिल्लाको सम्पन्नता र समृद्धिको निकास शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनमा आधारित व्यापारको विकास’ भन्ने नाराका साथ जारी महोत्सव वैशाख ४ गतेसम्म चल्नेछ।