काठमाडौँ - लुम्बिनी प्रदेशलाई पराजित गर्दै सुदूरपश्चिम प्रदेश यू-१९ राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा च्याम्पियन बनेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको फाइनल खेलमा लुम्बिनी प्रदेशलाई ६ विकेटले पराजित गर्दै सुदूरपश्चिम च्याम्पियन बनेको हो।
लुम्बिनी प्रदेशले दिएको ९३ रनको सामान्य रनको लक्ष्य सुदूरले २१ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो। सुदूरका लागि गजेन्द्र बोहोराले अविजित ३९ रन बनाए। दीपक बोहोराले २५ रन बनाए भने अनुराग सिंहले २२ रन जोडेका थिए।
यता लुम्बिनीका लागि रमेश कुर्मीले २ विकेट लिए भने निर्मल गुरुङ र अभिषेक गौतमले समान १/१ विकेट विकेट लिएका थिए। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनी २९ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै ९२ रनमा समेटिएको थियो। लुम्बिनीका लागि आकाश त्रिपाठीले सर्वाधिक ३८ रन बनाए भने नर सार्कीले ११ रन जोडेका थिए।
सुदूरपश्चिमका लागि मिलन बोहोरा एक्लैले ५ विकेट लिए भने हेमन्त धामी र नरेन साउदले समान २/२ विकेट लिएका थिए। यस उपाधिसँगै सुदूरले रु २ लाख प्राप्त गरेको छ। उपविजेतामा चित्त बुझाएको लुम्बिनीले रु १ लाख पाएको छ।
यही मङ्सिर ७ गतेदेखि सुरु भएको उक्त प्रतियोगितामा प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशसहित सातै प्रदेशको सहभागिता रहेको थियो।