पोखरा - नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा त्रिभुवन आर्मी क्लबले लुम्बिनी प्रदेशमाथि ४-१ को जित निकालेको छ।
लामाचौर गोस्तेघाट खेल मैदानमा शुक्रबार भएको खेलमा आर्मीलाई जिताउन दिनेश हेम्जन, जर्जप्रिन्स कार्की र नवयुग श्रेष्ठले १/१ गोल गरेका थिए। १ गोल लुम्बिनीका खेलाडीले आत्मघाती गरेका थिए।
एकपक्षीय खेलको पाँचौं मिनेटमै दिनेशको गोलमा आर्मीले अग्रता लियो। २४ औं मिनेटमा लुम्विनीले आत्मघाती गोल गर्दा आर्मीले पहिलो हाफमा २-० को अग्रता बनाएको थियो।
खेलको ४७ औं मिनेटमा जर्ज प्रिन्स कार्कीले गोल गर्दै अग्रता फराकिलो बनाए। ५० औं मिनेटमा लुम्बिनीका चेतन थारुले गोल गर्दै टिमलाई खेलमा फर्काउने कोशिस गरेका थिए। तर ९२ औं मिनेटमा आर्मीका नवयुग श्रेष्ठले गोल थपेसँगै आर्मी क्लबले लुम्बिनी प्रदेशमाथि ४-१ को जित निकालेको हो।