मकवानपुर - हेटौँडा उपमहानगरपालिका वडा नं १० स्थित बसपार्क नजिकको होटेलमा बिहिबार दिउँसो आगलागी भएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार तिहारका बेला होटेल मालिक मीना साह होटेल बन्द गरी अन्यत्र गएका बेला अचानक आगलागी भएको हो। सो क्रममा एकपछि अर्कोगरी पाँच वटा ग्यास सिलिन्डर बिस्फोट भएको प्रहरीले जनाएको छ।
घटनापछि हेटौँडा उपमहानगरपालिकाको दुई वटा दमकलले एक घण्टापछि आगलागी नियन्त्रणमा लिएको थियो। आगलागीबाट तरकारीको थोक बजारमा केही क्षति पुगेको छ।
प्रहरीले आगलागीबाट मानवीय क्षति नभएको र होटेलमा पूर्णरूपमा क्षति पुगेको तथा भौतिक क्षतिको विवरण आई नसकेको जानकारी दिएको छ।
होटेल मालिक मीना साहले गरगहना र नगदसहित करिब रु २० लाखको क्षति भएको बताइन्। प्रहरीले विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने जनाएको छ।