काठमाडाैं । संयुक्त राष्ट्रसंघले नेपालमा रहेका मुस्लिम समुदायको अवस्थाकाे बारेमा चासो राखेको छ ।
मंगलबार मुस्लिम आयोगका पदाधिकारीहरुलाई आयोगको कार्यालयमा भेट गरी संयुक्त राष्ट्रसंघको एक प्रतिनिधि मण्डलले नेपालमा रहेका मुस्लिम समुदायको आर्थिक, सामाजिक अवस्था र समस्याहरुको सम्बन्धमा चासो व्यक्त गरेको हो ।
संयुक्त राष्ट्रसंघको चरम गरिबी र मानव अधिकार हेर्ने विशेष टोलीको संयोजक ओलीभर डे स्कटरको नेतृत्वमा आएको प्रतिनिधि मण्डलले आयोगले गरिरहेको काम, मुस्लिम समुदायको शिक्षाको अवस्था, भुगोल अनुसार बसोबासको अवस्था लगायतको विषयमा जिज्ञासा राखेको आयोगका अध्यक्ष अन्सारीले बताए।
भेटको क्रममा आयोगका अध्यक्ष अन्सारीले आयोगले गरिरहेको काम र मुस्लिम समुदायको अवस्थाको सम्बन्धमा जानकारी गराएका थिए।
प्रतिनिधि मण्डलले नेपालको मुस्लिम समुदायको अवस्थाको सम्बन्धमा सन् २०२२ मा जेनेभामा हुने सम्मेलनमा रिपोर्ट पेश गर्ने बताएको आयोगका अध्यक्ष अन्सारीले जानकारी दिए ।