साउन १५ मा पनि दुधको छैन अभाव

काठमाडौं - बर्सेनि असार र साउनमा नेपाली बजारमा दुधको अभाव हुने गरेको थियो। असार १५ मा दहीचिउरा र साउन १५ मा खिर खाने चलन छ।  साउन १५ मा काठमाडौँ उपत्यकामा मात्र खिर खान २० लाख लिटर दुध बिक्री हुने लक्ष्य राखिएको छ।

सरकारी तथा निजी क्षेत्रले २० लाख लिटरभन्दा धेरै दुध बेच्ने लक्ष्य लिएको डेरी एसोसिएसनका अध्यक्ष प्रह्लाद दाहालले बताए। दुग्ध विकास संस्थानले साउन १५ गते एक लाख ४५ हजार लिटर दुध बिक्री गर्ने लक्ष्य लिएको छ। उपत्यकामा दैनिक आठ लाख लिटर दुध बिक्री हुँदै आएको छ।

अघिल्ला वर्षहरूमा भने यसबेला दुध आपूर्ति असामञ्जस्य हुँदा उद्योगीदेखि व्यवसायीसम्म निकै तनावमा हुन्थे तर यस वर्ष यस्तो तनाव उनीहरूले भोग्नु नै परेन। गाईभैँसीमा लम्पी स्किनले निकै प्रभावित तुल्याए पनि बजारमा दुध अभाव देखिएको छैन।

भारतबाट चोरी आयात भएकाले पनि नेपाली बजारमा दुध अभाव नभएको बताइएको छ। भारतबाट अवैध रूपमा दुध भित्र्याएर आपूर्ति व्यवस्था सहज तुल्याए पनि यसले अन्ततः नेपाली दुग्ध उत्पादन पुनः परनिर्भरतातर्फ धकेलिने पो हो कि भन्ने चिन्ता भने थपिएको छ।

नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रह्लाद दाहालले भने, “भारतबाट दुध भित्रिँदा नेपाली बजारमा दुध अभाव नभएको हो।” बर्खामा दुध अभाव नभएको सम्भवतः पहिलो पटक भएको दुध व्यावसायीहरू बताउँछन्। नेपाल पशु चिकित्सा परिषद्का प्रवक्ता डा. मनोजकुमार शाहीले कम्तीमा ११ लाख पशुमा लम्पी स्किनको सङ्क्रमण देखिएर दुध उत्पादनमा करिब ४० प्रतिशतले कमी आउन सक्ने अनुमान गरिएको बताए।

बजारमा दुध अभाव नभएपछि हाल पाँच वटा डेरी उद्योगले धुलो दुध बनाउने कार्य जारी राखेका छन्। ती उद्योगले दैनिक चार लाख ५० हजार लिटर कच्चा दुधबाट पाउडर दुध बनाउने क्षमता राख्छन्। त्यस्तै सरकारी स्तरको दुग्ध विकास संस्थानको स्वामित्वमा रहेको कारखानाले दैनिक ६० हजार लिटर दुधलाई धुलो दुध बनाउन सक्छन्। 
गोरखापत्र दैनिकबाट

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×