काठमाडौँ - मिटरब्याजीविरुद्ध आन्दोलनमा रहेका किसानहरुको समस्या समाधान गर्न सरकारले पहल थालेको छ।
महोत्तरीको बर्दिवासबाट संघर्षका लागि काठमाडौं हिँडेका मिटरब्याजीपीडित किसानका समस्या समाधान गर्न र घर फर्काउन गृहसचिवमार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निर्देशन दिएको प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए।
प्रधानमन्त्रीको निर्देशनअनुसार मकवानपुरका सीडीओ राजेन्द्रदेव पाण्डेले किसानसँग छलफल गरी सरकार कानून बनाउने काममा लागेको मिटरब्याजीका विरुद्ध सरकारले मुद्दा चलाइरहेको भन्दै घर फर्किन आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएको उनले बताए। पीडित किसानले भने कानून नबन्दासम्म नफर्कने बताएका छन्।
पीडित किसानको समस्या समाधान गर्न गृहमन्त्रालयले कानून बनाउनका निम्ति कानूनको मस्यौदा बनाएर कानून मन्त्रालयमा पठाइसकेको प्रेस संयोजक शर्माको भनाई छ।
‘आजमात्रै पनि प्रधानमन्त्रीले कानून सचिवलाई कानूनलाई प्रस्तावको रूपमा आज अपरान्ह बस्ने मन्त्रिपरिषद् ल्याउन र संसदमा दर्ता गर्न भनिसक्नुभएको छ र आजभोलि नै त्यो कानून संसदमा दर्ता हुन जान्छ। प्रधानमन्त्री मिटरब्याजी पीडित किसानहरुको समस्या समाधान गर्न गम्भीर हुनुहुन्छ,’ शर्माले भने