उपभोक्ता समितिमार्फत बाटो खनेका महिलालाई ऋणको भार

कैलाली - कैलालीको भजनीमा उपभोक्ता समितिमार्फत काम गरेका महिला यतिखेर घरबाट रकम तिर्नुपर्ने भएपछि समस्यामा छन्।

भजनी नगरपालिका–२ पल्टुपुरका सडक निर्माण उपभोक्ता समितिका महिला काम गर्दा खर्च भएको भन्दा कम रकम पालिकाबाट पाएपछि समस्यामा परेका हुन्। 

सिमलको रुखदेखि खडक बुढाको घरसम्म बाटो ग्राभेलका लागि नगरपालिकाले ५ लाख ५० हजार रुपैयाँ विनियोजन गरेको थियो। महिलाले त्यहाँ बाटो ग्राभेल गर्दा पालिकाबाट ३ लाख १ हजार रुपैयाँ मात्रै भुक्तानी पाएका छन्।

बाटो बनाउँदा खर्च भएको १ लाख १५ हजार रुपैयाँ तिर्न बाँकी रहेपछि उनीहरू यतिखेर समस्यामा छन्।

उपभोक्ता समितिमा स्थानीय ११ महिला छन्। महिलाले बाटो बनाउँदा टिप्परलाई मात्र ३ लाख ९० हजार र जेसीबीलाई १२ हजार रुपैयाँ तिर्न बाँकी छ। अन्य काम गर्दाको खर्चको हिसाब छैन। शुरूआतमा नगरपालिकाका प्राविधिकले सडक नापेर गर्नु भने जति नै आफूहरूले काम गरेको उनीहरूले बताएका छन्। 

प्राविधिकले बनाएको स्टिमेट अनुसार काम गरे पनि रकम कम भुक्तानी दिँदा समस्या भएको उपभोक्ता समितिकी अध्यक्ष इन्द्रा धामी बताउँछिन्। ‘हामीले भनेअनुसार काम गर्‍यौं,’ उनले भने, ‘पहिला त्यही नापेको थियो, ठीक छ यति ग्राभेल गर्नु भनियो, पछि रकम भुक्तानी दिँदा कम काम भयोे, रकम घट्छ भनेर थोरै दिए। प्राविधिकले नापेर बनाउन भने जति बाटो बनाएका हौं।’

पालिकाका प्राविधिकले दुःख दिएको अध्यक्ष धामीको आरोप छ। पालिकाले भुक्तानी कम दिएपछि ग्राभेल हालेको रकम तिर्न नसक्दा विपन्न बस्तीका महिला तनावमा छन्। महिलालाई रकम तिर्न ताकेता गर्दै टिप्पर मालिकले कागज गराएर गाईभैंसी उठाउने भनेपछि उनीहरू अब रकम कसरी तिर्ने भन्ने पीरमा रहेका धामी बताउँछिन्। ‘टिप्परलाई ९० हजार रुपैयाँ तिर्न बाँकी छ। हामीसँग ४५ दिनको कागज गरिएको छ। आज ४५ दिन पुग्दैछ,’ उनले पीडा सुनाउँदै भनिन्, ‘अब कहाँबाट ल्याएर तिर्ने ? बाटो बनाउँदा ऋणमा डुब्यौं।’

महिलाले टिप्पर मालिक लगायतलाई गरी अझै १ लाख १५ हजार रुपैयाँ तिर्न बाँकी छ। उपभोक्ता समितिका सचिव तारा बोहरा बुढा अब बाख्रा बेचेर भए पनि ऋण तिनुपर्ने बाध्यता आइलागेको बताउँछिन्। उनले भनिन्, ‘निकै समस्यामा छौं। बाख्रा पाल्नेले त्यही बेचेर तिर्ने सोच बनाएका छौं।’

महिलाले ६२० मिटर ग्राभेल गरेको स्थानीय बताउँछन्। पालिकाले हिसाब गरेर ४८५ मिटर बाटोको कामको मात्र भुक्तानी दिएको स्थानीय मनबहादुर बुढाले बताए। सो क्रममा उनीहरूले श्रमदान समेत गरेका थिए। ‘माग सम्बोधन नगरे महिला अब विकासका काममा हात हाल्न डराउने छन्,’ उनले भने। 

टिप्पर मालिकले ग्राभेल खसालेको रकम उपभोक्ता समितिबाट असूल गर्न ४५ दिनअघि कागज गरेको थियो। उक्त म्याद बुधवार सकिँदैछ। ९० हजार रुपैयाँ तिर्नुपर्ने भनी बनाइएको कागजमा ऋणीमा उपभोक्ता समितिका अध्यक्ष र सचिवलाई राखिएको छ भने स्थानीय भल्मन्सा बलबहादुर बुढालाई साक्षी राखिएको बुढा बताउँछन्।

‘मेरै घरमा कागज गरियो, कागजमा के लेखिएको छ हामीले हेर्न पाएनौं,’ उनले भने, ‘उपभोक्ता समितिलाई ऋणी बनाइएको छ। मलाई साक्षी राखिएको छ।’

स्टिमेटअनुसार ६२० मिटर सडक ग्राभेल गर्नुपर्ने छ तर ४८५ मिटरमा ग्राभेल गरिएको भजनी नगरपालिकाले जनाएको छ। नगरपालिकाका सबइन्जिनीयर भावना विष्टले काम अनुसारको पालिकाबाट भुक्तानी भएको तर नभएको कामको भुक्तानी दिन नसकिने बताइन्। ‘उहाँहरूले काम गरेअनुसार भुक्तानी दिइएको छ। रकम नपुगेकोबारे मलाई थाहा छैन,’ उनले भनिन्, ‘हामीले नापेर भुक्तानी दिने हो। त्यहीअनुसार दिएका छौं।’
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×