काठमाडौँ - इंग्लिस क्लब लिभरपुलले ब्राजिली मिडफिल्डर आर्थर मेलोलाई क्लबमा अनुबन्ध गरेको छ। लिभरपुलले मेलोलाई इटालियन क्लब युभेन्ट्सबाट एक सिजनका लागि लोनमा आबद्ध गरेको हो।
उनी यस सिजनको अन्त्यसम्म क्लबमै रहनेछन्। २६ वर्षीय मेलोले गत सिजन युभेन्ट्सका लागि ३१ खेल खेल्दा यो सिजन कुनै पनि खेल खेलेका छैन्। लिभरपुलमा आबद्ध भएपछि आर्थरले विश्व फुटबलमा धेरै प्रतिनिधित्व गर्ने यो प्रसिद्ध क्लबको जर्सी लगाउन पाउँदा खुशी रहेको बताएका छन्।
‘म साँच्चै खुसी छु र लिभरपुलको जर्सीमा मेरो सबै कुरा दिनको लागि धेरै उत्प्रेरित छु।’ आर्थरले थपे। लिभरपुलले चोटका कारण पछिल्लो समय मिडफिल्डमा समस्या व्यहोरीरहँदा आर्थरलाई क्लबमा अनुबन्ध गरेको हो। तर आर्थर आँफै दुवै घुँडाको समस्याबाट पीडित छन्।
लिभरपुलसँग फाबिन्हो, हार्वे इलिएट, फाबियो कार्भाल्हो र कर्टिस जोन्स रहेका छन्। कप्तान जोर्डन हेन्डरसन न्यूक्यासल युनाइटेडलाई २-१ ले पराजित गरेको खेलमा चोट बोकेका छन्।
उनले कम्तीमा पनि १ खेल गुमाउनेछन्। हेन्डरसनसँगै थियागो अलकान्तरा, नाबी केइटा र एलेक्स अक्सलेड-चेम्बरलेनले पनि चोट बोकेका छन्। ब्राजिलबाट २२ पटक क्याप जितेका आर्थरले एलिसन बेकर र फरवार्ड रोबर्टो फिर्मिनोसँग मिलेर २०१९ को कोपा अमेरिका जितेका थिए।