काठमाडौँ - यसपालिको टी-२० विश्वकपमा सबैभन्दा अनपेक्षित नतिजा निकाल्दै नेदरल्यान्ड्सले दक्षिण अफ्रिकामाथि जित हासिल गरेको छ। समूह चरणको आफ्नो म्याचमा स्तब्ध परिणामसँगै दक्षिण अफ्रिका विश्वकपबाट बाहिरियो।
सेमिफाइनलमा स्थान बनाउन दक्षिण अफ्रिकाका लागि जित्नै पर्ने दवाव थियो। नेदरल्यान्ड्सजस्तो कमजोर प्रतिद्वन्द्वीलाई दक्षिण अफ्रिकाले सहज जित निकाल्ने अपेक्षा थियो। तर, म्याचमा कसैले नसोचेको परिणाम आयो।
टस हारेर पहिले ब्याटिङमा निम्त्याइएको नेदरल्यान्ड्सले ४ विकेट मात्र गुमाएर १५८ रनको बलियो स्कोर खडा गर्न सफल भयो। १५९ रनको विजयी लक्ष्य लिएको दक्षिण अफ्रिका ८ विकेट गुमाएर १४५ रनमै समेटियो।
खेलको १५ औं ओभरसम्म दक्षिण अफ्रिका जिततर्फ उन्मूख देखिएको थियो। ६ विकेट हातमा रहँदा उसलाई जितका लागि ३० बलमा ४८ रन चाहिएको थियो। हेनरिच क्लासेन र डेभिड मिलरजस्ता ब्याट्सम्यान क्रिजमै थिए। तर, नेदरल्यान्ड्सका बलरहरुले कसिलो बलिङ गर्दै दक्षिण अफ्रिकाको सेमिफाइनल यात्रामा ब्रेक लगाइदिए।
ब्रान्डेन ग्रोवरले १६ औं ओभरमा मिलरसहितको २ विकेट लिएपछि खेलमा ट्विस्ट आएको हो। १७ औं ओभरमा क्लासेनपछि आउट भएपछि दक्षिण अफ्रिकाको आशा समाप्त भयो। अन्तिम २ ओभरमा दक्षिण अफ्रिकालाई जितका लागि ३६ रन चाहिएको थियो भने हातमा ३ विकेट थिए। अन्तिममा दक्षिण अफ्रिका १३ रनले पछाडि पर्यो।
दक्षिण अफ्रिकाका कुनै पनि ब्याट्सम्यानले ठूलो स्कोर बनाउन सकेनन्। रिलि रोसाउले सर्वाधिक २५ रन रिली रोसोउले २५ रन बनाए। नेदरल्यान्ड्सका कोलिन अकरम्यान म्यान अफ दि म्याच भए। उनले २६ बलमा ४१ रन बनाएका थिए। तर, म्याचमा सबैभन्दा निर्णायक भूमिका चाहिँ बलर ग्लोभरकै रह्यो। उनले महत्वपूर्ण ३ विकेट लिए।
हारपछि दक्षिण अफ्रिका नेट रनरेटका आधारमा पाकिस्तानसँग पछि परेकाले विश्वकपबाटै आउट भएको छ। भारतले सेमिफाइनलमा स्थान निश्चित गरेको छ भने पाकिस्तान र बंगलादेशमध्ये एउटा टिम सेमिफाइनलमा जानेछन्। आजै हुने पाकिस्तान र बंगलादेशको अन्तिम म्याच नै ग्रुप २ बाट सेमिफाइनलको दोस्रो स्थानका लागि निर्णायक हुनेछ।