विश्वकपअघि ब्राजिलले दुई खेल खेल्दै

काठमाडौँ - फिफा विश्वकप २०२२ कतार आउन अब केही सातामात्र बाँकी छ। उपाधिको दाबेदार मानिएको ब्राजिलले यसै साता दुई मैत्रीपूर्ण खेल खेल्दै प्रतियोगिताको अन्तिम तयारी गर्ने भएको छ।

ब्राजिलले सेप्टेम्बर २३ मा घानासँग खेल्नेछ। त्यसको ४ दिनपछि सेप्टेम्बर २७ मा ब्राजिल र ट्युनिसिया भिड्नेछन्। दुवै खेल फ्रान्समा हुनेछ। घानाविरुद्ध खेल ले हाभ्र र ट्युनिसियासँगको खेल पेरिस सेन्ट जर्मेनको मैदान पार्क दे प्रिन्समा खेलिनेछ।

ब्राजिलका प्रशिक्षक टिटेले विश्वकपको अन्तिम तयारीस्वरूप रहेको मैत्रीपूर्ण खेलका लागि २३ सदस्यीय टोली घोषणा गरिसकेका छन्। उनले प्रिमियर लिग टोली आर्सनलका फरवार्ड ग्याब्रिएल जेससलाई टोलीमा समेटेका छैनन्। प्रिमियर लिगमा राम्रो प्रदर्शन गरेपनि विश्वकप छनोटको क्रममा ११ खेलमा गोल नगरेपछि उनको विश्वकप खेल्ने सम्भावना कमजोर रहेको छ।

यस्तै एस्टन भिल्लाका मिडफिल्डर फिलिपे कोउटिन्हो पनि टोलीमा छैनन्। ब्राजिलको राष्ट्रिय टोलीका लागि ६८ खेलमा २१ गोल गरेका उनी टोलीमा अटाएका छैनन्। प्रिमियर लिगमा पनि उनले सुस्त सुरुवात गरेका छन्। मिडफिल्डमा वेस्ट ह्याम आएका लुकास पक्वेटाले भने स्थान बनाएका छन्।

आक्रमणमा पिएसजी स्टार नेयमार सँगै रियाल म्याड्रिडका भिनिसियस र रोड्रीगो छन्। यसै सिजन कीर्तिमानी मुल्यमा म्यानचेस्टर युनाइटेड आएका विंगर एन्टोनी पनि टोलीमा छन्। बार्सिलोनाका विंगर राफिन्हा पनि मैत्रीपूर्ण खेलमा सहभागी हुनेछन्।

नोभेम्बर तेस्रो साता सुरु हुने फिफा विश्वकपमा ब्राजिल समूह जी मा रहेको छ। ब्राजिलले समूह चरणमा सर्बिया, स्विटजरल्यान्ड र क्यामरुनको सामना गर्नेछ।

२३ सदस्यीय टोलीमा गोलरक्षक : एलिसन, एडरसन, वेभर्टन (पाल्मेरस)

डिफेन्डर : ड्यानिलो, एलेक्स सान्ड्रो, एलेक्स टेलेस, मार्किन्हस, एडर मिलिसाओ, थियागो सिल्भा, ब्रेमर, रोजर इबानेज

मिडफिल्डर : कासेमिरो, ब्रुनो गुइमारेस, फ्रेड, फाबिन्हो, लुकास पाक्वेटा, एभर्टन रिबिएरो (फ्लामेंगो)

फरवार्ड : एन्टोनि, रोबर्टो फिर्मिनो, मथिअस कुन्हा, नेयमार, पेड्रो (फ्लामेंगो), राफिन्हा, रोड्रीगो, भिनिसिअस

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×