प्रधानमन्त्री कपः पुलिस सेमिफाइनलमा, मधेसको विजयी सुरुवात

काठमाडौँ - प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिसले समूह ‘बी’मा लगातार तेस्रो जित निकाल्दै सेमिफाइनल यात्रा तय गरेको छ। बिहीबार भएको खेलमा पुलिसले लुम्बिनीलाई ६ विकेटले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको हो।

त्यस्तै समूहकै अर्को खेलमा मधेस प्रदेशले प्रदेश एकलाई पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गर्‍यो। मूलपानी मैदानमा भएको खेलमा मधेसले प्रदेश एकलाई ७२ रनले हराउँदै पहिलो खेलमै २ अंक हात पार्न सफल रह्यो।

टस हारेर पहिले ब्याटिङ गरेको मधेसले अनिल साहको ६१ रनको अर्धशतकीय इनिङमा २ सय १४ रन बनाएको थियो। जवाफमा प्रदेश १ एक सय ४२ रनमा समेटियो। प्रदेश १ का लागि लुभ कामतले २९ रन बनाउनुबाहेक अन्य खेलाडीको प्रदर्शन गतिलो रहेन। प्रदेश १ लाई सस्तैमा समेट्न मोहम्मद आदील अलाम, रुपेश सिंह, प्रदीप पाश्वान र विशाल सुस्लिङले समान २/२ विकेट लिएका थिए।

त्यस्तै टियू मैदान कीर्तिपुरमा भएको खेलमा नेपाल पुलिसले लुम्बिनीलाई ६ विकेटले हरायो। पहिलो ब्याटिङ गरेको लुम्बिनीले कप्तान देव खनालको ७४ रनको अर्धशतकीय इनिङमा १ सय ८८ रन बनाएको थियो।

तर उक्त लक्ष्य पुलिसले ४ विकेट गुमाएर ३७.१ ओभरमा पूरा गरेको थियो। पुलिसका लागि दीपेन्द्र सिंह ऐरीले अलराउन्डर प्रदर्शन गरेका थिए। उनले ४३ रनको नटआउट इनिङ खेल्दा लुम्बिनीको ४ विकेटसमेत लिएका थिए। त्यस्तै सुनिल धमलाले ३६ रन बनाउँदा कुशल भुर्तेलले ३२ रन बनाए। त्यस्तै आरिफ शेखले ३५ रन बनाउँदा अमित श्रेष्ठले २८ रन बनाएका थिए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×