नेपालको जितमा सिक्ने मौका

काठमाडौँ-  नेपाली क्रिकेट टिम पहिलो ट्वान्टी २० खेलमा जिम्बावे ‘ए’ सँग पराजित हुँदा धेरैको विश्लेषण थियो, टेस्ट खेल्ने देशको प्रदर्शन नै बेग्लै। हुन पनि जिम्बावेका खेलाडीको प्रदर्शन खुबै राम्रो थियो। दोस्रो ट्वान्टी २० वर्षाले हुन सकेन। तेस्रो ट्वान्टी २० मा नेपालले त्यही जिम्बावे ‘ए’ लाई हरायो। यस्तोमा भन्न कर लाग्छ, नेपालले हात पारेको यो यस्तो जित हो, जसलाई पछिसम्म पनि सम्झन सकिने छ। अब नेपाली क्रिकेटले भन्न सक्ने छ, हामी टेस्ट खेल्न राष्ट्रलाई पनि हराउन सक्षम छौं।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार जिम्बावे ‘ए’ ले पहिले ब्याटिङ गर्दै ७ विकेटमा १ सय ३६ रन बनाएको थियो। ट्वान्टी २० क्रिकेटमा यो कुनै राम्रो स्कोर थिएन। भलै, पिच ब्याटिङका लागि उपयुक्त देखिन्थ्यो। रोय किआले बनाएको ४९ रन सबैभन्दा उच्च व्यक्तिगत स्कोर थियो। जवाफमा नेपालले जितसम्म पुग्न हतारो देखायो। नेपाली बलरमध्ये विशेषतः सोमपाल कामी र बसिर अहमद घातक साबित भए। उनीहरू कसिकसाउ र कन्जुस्याँइपूर्ण बलिङ गरेका थिए।

सोमपालले १९ रनमा एक विकेट र बसिरले पनि १८ रनमा एक विकेट लिएका थिए। बलबाट कप्तान सन्दीप लामिछानेको प्रदर्शन पनि ठीक चल्यो। उनले २५ रन दिएर २ विकेट लिए। नेपालले विजयी रन पूरा गर्दा १५.५ ओभर मात्र चलेको थियो। त्यसमा क्रममा २ विकेट गुमाएर १ सय ३८ रन बनायो। बलरले जितका लागि बलियो आधार बनाएपछि ब्याटरले त्यसलाई सुहाउँदो र मिल्दो प्रदर्शन गरेका थिए।

नेपालको जितको नायक रहे प्रारम्भिक ब्याटर आसिफ शेख। उनले ८७ रनमात्र बनाएन, नटआउट पनि रहे। उनको प्रदर्शन एक प्रकारले त्रुटिरहित इनिङ्स थियो, जसलाई उनले आफ्नो खेलजीवनकै एक उत्कृष्ट प्रदर्शन मान्न सकिनेछ। त्यसका लागि उनले ५४ बलमात्र सामना गरे। यसमा १३ चौका र एक छक्का सामेल थियो। आसिफले पहिलो विकेटमा कुशल भुर्तेलसँग ८८ रनको ठोस साझेदारी पनि गरेका थिए।

कुशल आफैंले ३४ रनको गतिलो योगदान दिए। उनी आउट भएपछि बसिरले १० रन थपे। बसिर आउट त भए, तर त्यतिबेलासम्म नेपालको जित औपचारिकमात्र बनिसकेको थियो । जिम्बावेका लगभग सबै बलर फिक्का साबित भए। त्यसैले उनी खेलका निर्विवाद प्लेयर अफ द म्याच पनि भए।

उनले भने, ‘हामीले टेस्ट मान्यताप्राप्त देशको टिमविरुद्ध राम्रो खेल्यौं। यसको श्रेय बलरलाई दिनुपर्छ। हामीले राम्रो बलिङ र फिल्डिङ दुवै राम्रो गर्‍यौं। पिच राम्रो थियो, त्यसैले लक्ष्य पछ्याउन सक्ने विश्वास थियो। हामीले राम्रो सुरुआत पनि पायौं। विशेषतः पावर प्लेमा कुशल र मैले राम्रो गर्न सक्यौं। मैले यसअघि पनि केही राम्रा इनिङ्स खेलेको थिएँ तर त्यसलाई अन्त्यसम्म दोहोर्‍याउन सकेको थिइनँ, आज त्यसमा पनि सफल भएँ।’

नेपालले तेस्रो खेलमा प्राप्त जितको सबैभन्दा ठूलो विशेषता के रह्यो भने यससँगै तीन खेलको सिरिज १–१ को बराबरीमा टुंगियो। नेपालले धेरै गुमाउनुभन्दा धेरै पायो। यस्तोमा प्रशिक्षक पुबुदु दसानायके स्वयं खुसी रहे। यो खेलले आगामी दिनको महत्त्वपूर्ण खेलका लागि शिक्षा दिएको उनको दाबी थियो। उनको भनाइ थियो, ‘हामीले यो खेलमा निकै कम मात्र गल्ती गर्‍यौं र जिम्बावेली टिमलाई सुरुदेखि दबाबमा राख्न सफल भयौं।’

पूरा ट्वान्टी २० सिरिजकै विश्लषण गर्दै उनले थपे, ‘म खुसी छु, किनभने यो सिरिजमा सबैले राम्रो खेले। पहिलो खेलको तुलनामा आजको खेलमा हाम्रो प्रदर्शन राम्रो रह्यो। सबै खेल सम्भव भएको भए सिरिज अझ मज्जाको हुने थियो। जिम्बावे जत्तिको टिमविरुद्ध खेल्दा कुनै पनि सानो गल्ती माफीयोग्य हुन्न। खेलमा हामीले सामान्य भुलमात्र गरेको भए खेल उनीहरूको पक्षमा मोडिन सक्थ्यो, यस्तोमा हाम्रो खेल राम्रो क्रिकेटका लागि मीठो उदाहरण हो।’

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×