काठमाडौँ - म्यानचेस्टर युनाइटेडका पूर्व फरवार्ड वायन रुनी मेजर लिग सकरको क्लब डीसी युनाइटेडमा प्रशिक्षक बन्न सहमत भएको पश्चिमा सञ्चारमाध्यमले जनाएका छन्।
रुनीले २०१८ देखि २०१९ मा अमेरिकाको डीसी युनाइटेडबाट खेलेका थिए। रुनीले १७ महिनाको कार्यकालपछि गत महिना डर्बी काउन्टीको प्रशिक्षकबाट राजीनामा दिएका थिए। इङ्लिस क्लब डर्बी काउन्टी वित्तीय संकटमा फस्नुका साथै रेलिगेसनमा परेको थियो।
भिसाका प्रक्रियाका कागजी कामहरू पूरा भएपछि, रुनीले अन्तरिम प्रशिक्षक चाड एस्टनलाई प्रतिस्थापन गर्नेछन्। एस्टनले गत अप्रिलमा हर्नान लोसाडा बर्खास्त भएपछि अन्तरिम प्रशिक्षकका रूपमा काम गरिरहेका छन्। रुनी पछिल्लो एक सातादेखि अमेरिकी क्लबसँग संवादमा रहेका थिए।
डीसी युनाइटेड मेजर लिग सकरमा पुछारबाट दोस्रो स्थानमा रहेको छ। सबैभन्दा कम अंक (१७ खेलबाट १७ अंक) का साथ शिकागोसँग बराबरीमा छ। डीसी युनाइटेडले शुक्रबार राति फिलाडेल्फिया युनियनमा ७-० ले पराजित भएको थियो। जुन मेजर लिगकै सबैभन्दा ठूलो अन्तरको हार हो।
३६ वर्षीय रुनीले सन् २००४ देखि २०१७ सम्म इङ्लिस प्रिमियर लिगको क्लब म्यानचेस्टर युनाइटेडबाट खेलेका थिए। रुनी इल्यान्डको राष्ट्रिय टिमबाट सबैभन्दा धेरै गोल गर्ने खेलाडी पनि हुन्। रुनीले १८ महिनाको जिम्मेवारीपछि इंग्लिस क्लब डर्बीको प्रशिक्षक पदबाट गत महिना राजीनामा दिएका थिए।