काठमाडौँ - भदौ १० गतेदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘प्रकाश’ ले आक्रामक प्रचार अभियानको घोषणा गरेको छ। यो फिल्मको निर्माण संस्थाले देशका विभिन्न छ वटा शहरहरुमा प्रमोशनल कार्यक्रम गर्ने घोषणा गरेको हो। युवा पुस्ताका चर्चित कमेडियनहरुको सहभागिता रहने प्रमोशनल टुर असार ३१ गते चितवनको भरतपुरबाट प्रारम्भ भएर भदौ ५ गते काठमाडौंमा सम्पन्न हुनेछ।
निर्माण पक्षले दिएको जानकारी अनुसार असार ३१ र ३२ गते चितवनको भरतपुर, साउन ६ र ७ गते बुटवल, साउन १३ र १४ गते पोखरा, साउन २० र २१ गते विराटनगर, साउन २७ र २८ हेटौडा तथा भदौ ३, ४ र ५ गते काठमाडौंमा कार्यक्रम आयोजना हुनेछ।
फिल्मले प्रमोशनल कार्यक्रमका लागि बटुवा कमेडी र कमेडी टुकटुकसंग सहकार्य गरेको छ।
‘टेबल मुनीबाट’ नाम दिइएको प्रमोशनल कार्यक्रममा फिल्मका अभिनेता प्रदीप खड्कासहित अन्य कलाकार र कमेडियनहरु आदर्श मिश्रा, आयुस श्रेष्ठ, एलेन जंग राणा, आशिष घिमिरे र पुजन अधिकारी सहभागि हुनेछन्। काठमाडौंमा अन्य कलाकारहरु पनि सहभागी हुने जनाइएको छ।
दिनेश राउतको निर्देशनमा बनेको यो फिल्ममा प्रदीप खड्का, दिया मास्के, रेणु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाहीलगायतका कलाकारको अभिनय छ।
बिनिस इन्टरटेनमेण्टको ब्यानरमा निर्माण भएको यो फिल्ममा विकास सुबेदीको लेखन, राजेश श्रेष्ठको छायांकन, जीवन थापाको सम्पादन, सुवास भुषाल, दिपक शर्मा, तारा प्रकाश लिम्बु र एलिस कार्कीको संगीत, उत्तम न्यौपानेको साउण्ड डिजाइन र शैलेश श्रेष्ठको पाश्र्व संगीत रहेको छ।
महेन्द्र अधिकारी निर्माता रहेको चलचित्रलाई आरआर फिल्म्सका रोहित कट्टेल र रत्न श्रेष्ठले वितरण गर्दैछन्।