जुम्ला - पातारासी गाउँपालिकाले गत आर्थिक वर्षमा २३२ वटा योजना सम्पन्न गरेको छ। पालिकाभित्रका सबै वडामा सो योजना सम्पन्नका लागि रु १९ करोड १८ लाख ६३ हजार ६०० खर्च भएको गाउँपालिका अध्यक्ष लछिमन बोहोराले बताए।
स्थानीय समुदायका मागमा आधारित योजना सफतापूर्वक निर्माण गरी सञ्चालनमा आएका छन्। सो गाउँपालिकाले आर्थिक वर्ष २०७८/०७९ को दोस्रो चौमासिकको सार्वजनिक सुनुवाइ तथा समीक्षा कार्यक्रमा अध्यक्ष बोहोराले सो जानकारी दिएका हुन्।
चालू आवमा एक स्थानीय तह एक खेल मैदान, स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम, कृषि कार्यालय जुम्लाको आलु पकेट सिँचाइ कार्यक्रमको २ प्रतिशत, राष्ट्रिय शैक्षिक सुधार कार्यक्रममा चार प्रतिशत, वित्तीय समानीकरणतर्फ २१ प्रतिशत, प्रधानमन्त्री रोजगार कार्यक्रममा सात प्रतिशत बजेट खर्च भइसकेको छ।
यस्तै मुख्यमन्त्री रोजगार कार्यक्रमको १७ प्रतिशत, सङ्घ सरकारको समपूरक र विशेष अनुदानतर्फको ३९ प्रतिशत, वित्तीय समानीकरणतर्फको अध्यक्ष/उपाध्यक्ष विकास कोषतर्फ २ प्रतिशत र नेपाल जलवायु परिवर्तन कार्यक्रमतर्फको आठ प्रतिशत रकम पालिकाले खर्च गर्न सफल भएको उनको भनाइ छ। पालिकाभित्र ४० वटा सडक निर्माण भई सञ्चालनमा आएका छन्। आर्थिक वर्ष २०७६/०७७ मा ग्राभेल सडक ५१ हजार मिटर र २०७७/०७८ मा ७५ हजार मिटर सडक ग्राभेल गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद धितालले बताए।