काठमाडौँ - भारतीय आध्यात्मिक सेलिब्रिटी सद्गुरुको निम्तोमा अभिनेता राजेश हमाल बिहीबार बैंग्लोरतर्फ प्रस्थान गरेका छन्। हमालसँगै गायक रवि ओड र भीवाईएफका सञ्चालक दशरथ सुनार छन्।
हमालले तमिलनाडुस्थित कोइमबतुर पुगेर योग तथा आध्यात्मिक व्यक्तित्व समेत रहेका सद्गुरुसँग एक टक शो छायांकन गर्नेछन्। यो प्रतीक्षित टक शो उनको आश्रममा हुनेछ।
शनिबार सुटिङ हुने उक्त टक शोमा हमाल र सद्गुरुबीच नेपाल र भारतबीचको मित्रता, संस्कृति र अध्यात्म लगायतको विषयमा कुराकानी हुनेछ। भीवाईएफ टक शो योसँगै वैश्विक सेलिब्रिटीसँग कन्भर्सेसन पनि थालनी गर्दैछ।
धेरै अघिदेखि हमाल र सद्गुरुबीच संवादका लागि पहल भएको थियो। सद्गुरुको औपचारिक निम्तो आएपछि हमाल त्यसतर्फ लागेका हुन्। यसैबीच, सद्गुरुले भदौ १७ गते नेपालमा प्रवचन समेत दिने भएका छन्। उक्त प्रवचनलाई नेपाल नेटवर्क टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्ने बिहीबारै सम्झौता समेत भएको छ।