काठमाडौँ - विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) को पछिल्लो वरीयतामा नेपाल यथावत् रहेको छ। फिफाले निकालेको नयाँ वरीयता अनुसार नेपाल अघिल्लो महिना जस्तै १ सय ७६औँ स्थानमा यथावत् रहेको हो।
नेपालले पछिल्लो पटक गएको जुनमा कुवेतमा एसियन कप छनोट खेलेको थियो। नेपालले अर्को महिना घरेलु मैदानमा बङ्लादेशसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने तालिका रहेको छ। दक्षिण एसियातर्फ नेपाल तेस्रो स्थानमा रहेको छ।
१ सय ४औँ स्थानमा रहेको भारत दक्षिण एसियातर्फ शीर्ष स्थानमा कायमै छ। त्यस्तै १ सय ५६औँ स्थानमा रहेको माल्दिभ्स दोस्रो र १ सय ८६औँ स्थानमा रहेको भुटान चौथो स्थानमा रहेको छ। क्रमशः बङ्लादेश पाँचौँ, पाकिस्तान छैटाैँ र श्रीलङ्का सातौँ स्थानमा रहेका छन्।
बङ्लादेश १ सय ९२औँ र पाकिस्तान १ सय ९५ औँ स्थानमा रहेको छ। दक्षिण एसियाको पुछारमा रहेको श्रीलङ्का २ सय ७औँ स्थानमा रहेको छ। विश्व वरीयतामा ब्राजिल शीर्षस्थानमा यथावत् छ।