काठमाडौँ - तेस्रोपटकको प्रदर्शनमा पनि चलचित्र ‘चपली हाइट-३’ ‘फ्लप’ सावित भएको छ।
अर्जुनकुमार निर्मित चलचित्र गतवर्ष पुस ३० गतेदेखि पहिलोपटक प्रदर्शनमा आएको थियो। त्यसबेला कोरोना भाइरसका कारण प्रदर्शनको तीन दिनमै हल बन्द हुँदा प्रदर्शन स्थगित हुन पुगेको थियो।
निर्माता अर्जुनले फागुन १ गतेदेखि आफ्नो चलचित्रलाई दोस्रोपटक प्रदर्शनमा ल्याएका थिए। त्यसबेला कोरोनाका कारण १ महिना हल बन्द भएर भर्खरै खुलेको थियो। उक्त समय पनि चलचित्र हेर्न हलमा दर्शक पुगेनन्।
२ पटक नै प्रदर्शनमा आउँदा कोभिडको मारमा परेका कारण चलचित्र गत शुक्रबारदेखि तेस्रोपटक प्रदर्शनमा ल्याइएको थियो। तर, तेस्रोपटक प्रदर्शनमा पनि चलचित्र हेर्न दर्शकहरू हल पुगेका छैनन्। हलमा ४-५ जना मात्र दर्शक रहेको हल सञ्चालकहरूले बताएका छन्। ‘चलचित्र हेर्ने दर्शक नै छैनन्। १/२ दिनमा सबै हलबाट उत्रिसक्छ’, १ हल सञ्चालकले भने।
आकाश बरालको लेखन तथा संवाद रहेको चलचित्रलाई निकेश खड्काले निर्देशन गरेका हुन्। चलचित्रमा स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, महेश त्रिपाठी, अर्पण थापा, आमिर गौतम, प्रतिकमान श्रेष्ठ, लक्ष्मी बर्देवालगायतका कलाकारहरूको अभिनय रहेको छ।