काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक गन्तव्य बनिसकेको बताएका छन् । तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनको उद्घाटन सत्रमा लगानी बोर्डका उपाध्यक्ष समेत रहेका मन्त्री पुनले नेपाललाई गन्तव्यको रूपमा प्रस्तुत गर्नु सम्मेलनको प्रमुख उद्देश्य रहेको बताए ।
आफूहरूको आह्वानमा लगानीको अवसर र सम्भावना खोज्न आएकामा सम्मेलनका पाहुनाप्रति मन्त्री पुनले आभार व्यक्त गरे । सम्मेलनमार्फत नेपालले विदेशी तथा स्वदेशी लगानी प्रवर्द्धन गर्न नियामक क्षेत्रमा हालै गरिएका सुधारहरूबारे जानकारी गराउनु तथा लगानीका लागि तयार भएका परियोजनाहरू सहित विभिन्न क्षेत्रका आयोजनाहरूको विस्तृत प्रदर्शनी गर्नु पनि सम्मेलनको उद्देश्य रहेको उनको भनाइ थियो ।
उनले सम्मेलनले क्रममा लगानीकर्ता र सरोकारवाबीच धेरै सम्झौता र समझदारीका साथै परियोजना विकास र व्यवस्थापनसम्बन्धी सम्झौता हुने विश्वास लिइएको बताए । सम्मेलन नीति निर्माताहरू, लगानीकर्ताहरू, विशेषज्ञहरू र अन्य सरोकारवालाबीच विचार आदानप्रदान गर्नुका साथै उद्योग र पूर्वाधार विकास जस्ता क्षेत्रमा सहकार्यका लागि नेटवर्किङ गर्ने अवसरमा रुपान्तरण हुने विश्वास मन्त्री पुनले लिए ।