पाँच प्रदेशका इन्जिनियर्स एशोसिएशनमा लोकतान्त्रिक समूहको नेतृत्व

काठमाडौँ - नेपाल इन्जिनियर्स एशोसिएशनको नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा पाँच प्रदेशमा लोकतान्त्रिक समूह पदाधिकारीसहित बहुमत पदमा निर्वाचित भएको छ। 
 
पाँच प्रदेशमा सेन्टर फर डेमोक्रयाटिक इन्जिनियर्स नेपाल (सिडेन) को नेतृत्वसहित बहुमत पदमा निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ। प्रदेश नं १, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा लोकतान्त्रिक समूह निर्वाचित भएको निर्वाचन समितिका सदस्य उमेश गुप्ताले राससलाई जानकारी दिए। पाँच प्रदेशमा नेतृत्वसहित मुख्य पद गरी बहुमतमा सिडेनको समूह निर्वाचित भएको उनले सुनाए।

अहिले मत गणना भइरहेको मधेश प्रदेश र बागमतीमा पनि धेरै पदमा सिडेनकै पदाधिकारी एवं सदस्यको अग्रता रहेको छ। मधेश प्रदेशका दुई निर्वाचन केन्द्रमध्ये एक र बागमतीका तीन निर्वाचन केन्द्रमध्ये एकको मत गणना अहिले जारी छ। आज बेलुकीसम्म जनकपुर काठमाडौँ केन्द्रको पनि मत परिणाम आउने समितिले जनाएको छ। राज्य पुनःसंरचनापछि प्रदेशको दोस्रो कार्यकालका लागि मतदान भएको हो।

एशोसिएशनको अध्यक्षमा प्रदेश नं १ मा जयनाथ यादव, गण्डकीमा वृजेन्द्र केसी, लुम्बिनीमा शैलेन्द्रकुमार श्रेष्ठ, कर्णालीमा हरि केसी र सुदूरपश्चिममा प्रदीपकुमार पन्त निर्वाचित भएका छन्। अग्रता कायम गर्ने सिडेनका उम्मेदवारमा मधेश प्रदेशमा श्यामकिशोर यादव र बागमतीमा रोहिणी पौडेल छन्।

केन्द्रीय नेतृत्वमा पनि सिडेनकै अग्रता

केन्द्रीय नेतृत्वमा पनि सिडेनका पदाधिकारी एवं सदस्य गरी बहुमतमा अग्रता कायम गरेको छ। लोकतान्त्रिक समूहबाट अध्यक्ष पदमा डा हरिबहादुर दर्लामीको नेतृत्वको समूह प्रतिस्पर्धामा छ। 

यसैगरी प्रगतिशील समूहबाट डा सुरज लामिछाने नेतृत्वको समूहले प्रतिस्पर्धा गरिरहेको छ। सिडेनबाट विद्रोही समूह निर्वाचनमा खडा भए पनि पाँच प्रदेशमा विजयीसहित केन्द्रमा पनि अग्रता कायम गरेको उपाध्यक्ष पदका उम्मेदवार नारायण अधिकारीले सुनाए। एशोसिएशनको ३३ औँ कार्यसमितिका लागि फागुन २७ गते शुक्रबार मतदान भएको थियो। एशोसिएशनबाट इन्जिनियर्स काउन्सिलमा प्रतिनिधित्व गर्ने पाँच पदमा पनि सिडेनकै उम्मेदवारको अग्रता रहेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×