काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का नवनिर्वाचित उपमहासचिव प्रदीपकुमार ज्ञवालीले हाल सर्वोच्च अदालतमा देखिएको आन्दोलन केवल न्यायाधीशहशरूको गुटको झगडा भएको टिप्पणी गरेका छन्।
राजधानीमा आज बिहीबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै ज्ञवालीले अहिले सर्वोच्च अदालतमा भइरहेको आन्दोलनलाई न्यायाधीशको दुई गुटबीचको झगडाको रुपमा चित्रण गरे। सम्बोधनको क्रममा उनले भने, ‘अहिलेको हड्ताल न्यायाधीशभित्रको गुटको झगडा हो। कतिपय न्यायाधीशलाई एक जनालाई हटाए र त्यो पदमा पुग्न सकिन्छ कि भन्ने लागेको होला, कतिपय वरिष्ठ कानुन व्यवसायीलाई लागेको होला। अहिले तर्साउन सके गरुडको छाँयाजस्तो बनाउन सकिएला।’ ज्ञवालीले अहिले बार र सर्वोच्च बारको आन्दोलनबाट न्यायालयमा सुधार नहुने दाबी गरे।
यसअघि पनि अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई हटाउँदैमा न्यायालयभित्रको समस्या समाधान नहुने बताइसकेका थिए। एमालेले कुनैपनि हालतमा प्रधानन्यायाधीशविरुद्ध महाभियोग लगाउन नहुने अडान राख्दै आएको छ।
साभारः रिपोर्टर्स नेपाल