सगरमाथा शिखरमा पुग्ने सुरक्षित बाटोको खोजीमा फ्रान्सेली आरोही

काठमाडौँ - संसारभरका मानिसले सगरमाथाको देश भनेर नेपाललाई चिन्छन्। सर्वोच्च शिखरको आरोहण गर्ने कुरा धेरैका लागि सपनाको उडानजस्तै लाग्छ। तीमध्ये केहीले यसको सफल आरोहण गरिसकेका छन् भने केही आगामी दिनमा सफल यात्रा गरौँला भनेर प्रतीक्षारत छन्।

स्वर्गको टुक्रा जस्तै लाग्ने सगरमाथाको उडान आफैँमा साहसको एउटा प्रतिबिम्ब बन्न पुगेको छ। मानिस जति रोमाञ्चित छ, त्यत्ति सजिलो भने छैन सगरमाथाको उचाइ नाप्ने कुरा। किनकि, हिमनदी र हिमखाल्डोका कारण धेरैले जीवनको इहलीला उतै समाप्त गर्नुपरेको छ। हिमालमा जति आकर्षण छ, त्योसँगै पीडा र वेदना पनि उत्तिकै छ। किनकि, क्षणभरमा जीवन सकिदिने क्षमता उसैसँग छ। तर आरोहणको सफल प्रतीक्षा भने धेरै साहसीका लागि अझै पनि कुरेर बसिरहेको छ। सर्वोच्च शिखरमा १३ वर्षे बालकदेखि ८० वर्षका वृद्धले पनि सफलताको उचाइ बनाएका छन्।

केही आरोही तीव्र गतिका साथ आरोहण गरेर रेकर्ड बनाएका छन् भने कोही अक्सिजन विना नै सगरमाथा पुगेका छन्।  एक आरोहीले त सगरमाथा पुगेर प्याराग्लाइडिङ समेत गरेर रेकर्ड कायम राखे भने एक जोडीले त्यही विवाह गरेको रेकर्ड पनि छ। सगरमाथासँग जोडिएका सयौँ रेकर्ड बनिरहेका छन्। आगामी दिनमा पनि बन्ने नै छ। तर सुरक्षित आरोहण गरेर सुरक्षित फर्कने विषयमा आफैँमा अर्को महत्वपूर्ण छ। शिखर पुगेर नापेको सफलताको उचाइ आफ्ना घर परिवार, आफन्त र साथीभाइलाई सुनाउन नपाउँदै धेरै आरोही हिउँको काखमा नै निदाएका छन्। जो कहिल्यै उठ्ने छैनन्। जलवायु परिवर्तनका कारण हिमालमा तापक्रम वृद्धि हुँदै गएको छ। हिमनदीहरू पग्लँदै छन्। खुम्बु हिमनदी संसारका लामा हिमनदी मध्येको एक हो। यही हिमनदीले सगरमाथा आरोहणमा गएकालाई फर्केर आउन दिएको छैन।

फ्रेन्च आरोही जिन मार्क बोबिनले सगरमाथाबाट पहिलो पटक प्याराग्लाइडिङ गरेर सन् १९९८ मा रेकर्ड राखेका थिए। नेपाली शेर्पाको सगरमाथा आरोहणमा देखाएको साहसको संसारभर नै प्रशंसा हुने गरेको छ। शेर्पालाई विश्वास र मिहिनेतको प्रतीकका रूपमा समेत लिइन्छ। एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले पहिलो पटक गरेको सफल आरोहणदेखि नै नेपाली शेर्पा समुदायको नाम विश्वजगतले चिनेको छ।

पछिल्ला दिनमा आरोहणका अनेकन पटक सफलताको नाम राखेको पासाङ नुरु शेर्पाको काँधमा यसपटक भने नयाँ जिम्मेवारी छ। हिमाल आरोहण गर्नु उनलाई कुनै गाह्रो काम जस्तो लाग्दैन। बिहीबार साँझ उनी नेपालको पर्यटन क्षेत्रमा पुनः जागरण ल्याउने उद्देश्यका साथ आयोजित एक कार्यक्रममा भेटिएका छन्। यतिबेला उनी फ्रान्सेली आरोही एवम् नेपाललाई असाध्यै धेरै माया गर्ने मार्क बटारले सगरमाथामा तय गरेका एउटा मिसनलाई सफल बनाउन लागेका छन्।सगरमाथा आरोहण गर्न चाहनेलाई सुरक्षित बाटो बनाउने काममा पासाङ र मार्क बटार्डको सहयात्रा भइरहेको छ। आरोहण गर्ने विषय आफैमा महत्वपूर्ण हुँदै हो, त्यसमाथि सुरक्षित जाने र आउने कुरा पनि उत्तिकै महत्वपूर्ण छ। सोही कामलाई मूर्त रुप दिन उनीहरू निरन्तर लागिपरेका छन्। वसन्त ऋतु सुरु भइसकेको छ। हिमालले आरोहीलाई बोलाइरहेको तथा कोरोनाले थला परेको पर्यटन उद्योगलाई पूर्ववत् अवस्थामा फर्काउने दायित्व पनि यतिबेलाको अहम् प्रश्न बनेको छ।

कोरोनाका कारण सङ्कटमा परेको पर्यटन उद्योगको पुनरुत्थान गर्दै नयाँ सम्भावनाको खोजी, पहिचान तथा प्रवर्द्धन गर्नका लागि यस क्षेत्रमा लगानीको उपयुक्त वातावरण तयार गरी स्वरोजगारी सिर्जना गर्दै अर्थतन्त्रमा योगदान गर्ने लक्ष्यका साथ सरकारले पर्यटन क्षेत्र पुनरुत्थान निर्देशक समिति गठन गरेको छ। सो समिति मातहत रहनेगरी पर्यटन क्षेत्र पुनरुत्थान प्राविधिक समिति गठन भएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×