काठमाडौँ । कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत महामन्त्री पदमा पराजय भोग्ने देखेपछि रक्षामन्त्री डा. मिनेन्द्र रिजालले राजीनामा दिने घोषणा गरेका छन् ।
उनले सामाजी संजाल ट्वीटर मार्फत मतगणनाको पूर्ण विवरण आएपछि प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा पत्र बुझाउने जानकारी दिएका छन् । महाधीवेशन अन्तर्गत अहिले महामन्त्रीको मतगणना जारी रहेको छ । मतगणनामा उनी पाँचौँ स्थानमा रहेका छन् । उनी शशांक कोइरालाको कोटाबाट देउवा नेतृत्वको सरकारमा सहभागी भएका हुन् । स्रोतका अनुसार कांग्रेस महाधिवेशनमा उनलाई सभापति देउवालाई समर्थन गर्न कोइरालाले भनेका थिए तर रिजालले शेखर कोइराला प्यानलबाट निर्वाचनमा होमिएपछि शशांकले उनलाई राजीनामा दिन दबाब दिएका हुन् ।
उनले ट्वीटर यसरी राजीनामाको घोषणा गरेका छन् -
नेपाली काङ्ग्रेसको चौधौं महाधिवेशनमा मैले प्रतिस्पर्धा गरेको महामन्त्री पदको प्रारम्भिक परिणामबाट नै स्पष्टरूपमा प्राप्त सन्देशलाई दृष्टिगत गर्दै रक्षामन्त्रीको पदबाट राजीनामा दिने निर्णय लिएको छु। अन्तिम परिणाम प्राप्त हुनासाथ सम्माननीय प्रधानमन्त्रीसमक्ष राजीनामा पेश गर्नेछु।
— Minendra Rijal (@MinendraRijal) December 16, 2021