काठमाडौँ । सर्लाहीको बागमती नगरपालिकास्थित बागमती नदी, हरिवन नगरपालिकास्थित चापिनी र लखनदेही नदी, लालबन्दी नगरपालिकास्थित कालिञ्जोर र फुलजोर तथा ईश्वरपुर नगरपालिकास्थित बाँके खोलामा दोहन भइरहँदा सरोकारवाला निकाय मौन देखिएका छन्।
जनप्रतिनिधि र कर्माचारीको मिलेमतोमा अवैध नदी भैरहेको स्थानीयवासीले आरोप लगाएका छन्। स्थानीय निकायले वातावरणीय मूल्याङ्कन प्रतिवेदन तयार पारी नदीजन्य पर्दाथ उत्खननको ठेक्का लगाएको भए पनि ठेकेदार कम्पनीले स्थानीय निकायलाई बेवास्ता गर्दै मापदण्डविपरीत नदीजन्य पदार्थको उत्खनन गरिरहेको स्थानीयवासीको आरोप छ। लालबन्दी र ईश्वरपुर नगरपालिकाको सिमानामा पर्ने फुलजोर खोलाको ढाडाटोल नाका, प्रतापटोल नाका र फुलजोर र कालिञ्जोर दोभान नाकाबाट पाँच फिट गहिराइ आठ लाख ९७ हजार ८९६ घनमिटर नदीजन्य पदार्थ उत्खनन गर्ने गरी विकल्प कन्ट्रक्शनले रु. ३५ लाखमा सम्झौता भएको थियो।
त्यसैगरी, लालबन्दी नगरपालिकाअन्तर्गत पर्ने कालिञ्जोर खोलाको भोर्लेनी नाका, रानीगञ्ज नाका, रेल्वेपुल नाका र जब्दी दोभान नाकाबाट पाँच फिट गहिराइ कूल २५ लाख ६५ हजार ४१८ घनमिटर उत्खनन गर्ने गरी ठोकर निर्माण सेवाले रु एक करोडमा सम्झौता भएको लालबन्दी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वासुदेव तिमल्सिनाले जानकारी दिए।